असार ६, काठमाडौं । जिल्ला अदालत कलैया, बाराका डिठ्ठा (खरिदार) सुनिल चौधरी घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन ।
जिल्ला अदालत कलैया,बाराका खरिदार सुनिल चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नु पर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस माग गरेका हुन ।
विशेष उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा, मकवानपुरबाट खटिई गएको टोलीले सुनिल चौधरीलाई सेवाग्राहीसँग रू.१८,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला अनुसार घुस रकम सहित कलैया उपमहानगरपालिका वडा नं ४ स्थित अदालत अगाडिको चियापसलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।