असोज ३ सुर्खेत ।संविधान दिवसको अवसरमा प्रदेश राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा आयोजित समारोहलाई सम्वोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान कार्यान्वयन र समृद्धिको जनचाहना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध भएको बताएका छन् ।मुख्यमन्त्री शाहीले संविधान प्रदत्त जनाधिकार पूरा गर्दै समृद्ध कर्णाली निर्माणको अभियानमा प्रदेश सरकार दृढताका साथ लागि परेको बताए ।
सरकार बनेको डेढ वर्षको अवधिमा अत्यावश्यक कानून तर्जुमा, प्रदेश सरकारको संगठन संरचना तर्जुमा एवं आवश्यक कार्यालयहरुको स्थापना, योजना आयोगको गठन, आपतकालीन उद्धार तथा राहत वितरण, सवै नागरिकको विपद दुर्घटना बीमालगायतका कामहरु सरकारले गरेको मुख्यमन्त्री शाहीले बताए ।प्रशासनिक संरचना, कानून, जनशक्तिको अभाव तथा अनुभवजन्य कमजोरीका बाबजुद पनि छोटो अवधिमै कर्णाली प्रदेश सरकारले विकास र समृद्धिको जग निर्माण गर्न सरकार सफल भएको मुख्यमन्त्री शाहीको भनाइ छ ।
मुख्यमन्त्री शाहीले संघीय शासन प्रणालीको संस्थागत गर्दै संविधानले ग्यारेण्टी गरेका नागरिकका मौलिक हकको कार्यान्वयनको दिशामा अघि बढ्नुमा नै संविधान दिवस मनाउनुको सार्थकता रहेको बताए ।संविधान दिवसको शुभकामना दिदै मुख्यमन्त्री शाहीले तीव्र गतिमा आर्थिक, सामाजिक तथा भौतिक विकास गर्दै सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माणको लागि सबै नागरिकमा संविधान दिवसले प्रेरणा पैदा गर्ने विश्वास व्यक्त गरे ।