असार ५, जोमसोम । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुङजुङमा हावाबाट बिजुली बाल्न थालिएको छ । हावाबाट बिजुली उत्पादन गर्ने सरकारी लक्ष्य अनुसार सीमावर्ती उक्त गाउँमा वायु तथा सौर्य उर्जा प्रणाली जडान गरिएको हो। सदियौंदेखि अन्धकारमा रुमलिएका दुरदराजको अतिविकट गाउँ चुङजुङमा बिजुली बलेपछि स्थानीय सर्वसाधारण खुसी भएका छन् ।
गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले सौर्य तथा वायु ऊर्जा परियोजनाको एक समारोहकाबीच उद्घाटन गरे । सांसद बिष्टले गाउँको अन्धकार हटाउन सौर्य तथा वायु उर्जा परियोजनाका अभियान्तालाई धन्यवाद व्यक्त गरे । उनले हावाबाट बिजुली उत्पादनले स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउने बताए ।
उर्जा, वातारण अनुसन्धान तथा विकासकेन्द्र र जन ऊर्जा तथा वातारण विकास संघको संयुक्त पहलमा उक्त सौर्य तथा वायुबाट चल्ने हाइब्रिड उर्जा परियोजना सम्पन्न भएको हो । उक्त परियोजनाका लागि फिनिस संस्था सेमेनपु फाउन्डेसन फिनल्यान्ड र इकोइनर्जी कम्पनीले आर्थिक सहयोग गरेका थिए। चुङजुङमा सौर्य ३ किलोवार्ड र वायु उर्जा १ किलोवार्ड गरी ४ किलोवार्ड विद्युत उत्पादन हुने जन ऊर्जा तथा वातावरण विकास संघका कार्यकारणी अधिकृत विराज गौतमले जानकारी दिए । उनका अनुसार सौर्य ऊर्जा सोलार र वायु पंखाको माध्यमबाट ब्याट्री चार्ज हुने व्यवस्था मिलाइएको हो ।
सौर्य तथा वायु ऊर्जाका लागि सय एम्पियरको ८ ओटा ब्याट्री र ४ केभीएको इन्भटर जडान भएको अधिकृत गौतमले खुलाए । सौर्य तथा वायु उर्जा सञ्चालनमा आएपछि सीमावर्ती गाउँ चुङजुङका ३६ घरधुरी प्रत्यक्ष लाभान्वित भएको स्थानीय रिचुङ गुरुङले बताए । ऊर्जा परियोजनाले प्रत्येक घरधुरीमा बत्ती र तारको व्यवस्था समेत गरेको हो । यसका अतिरिक्त सामुदायिक भवन र त्यहा रहेको स्कुलमा समेत विद्युतीकरणको व्यवस्था मिलाइएको छ । स्कुले बालबालिकाको शैक्षिक पठन–पाठनमा टेवा पुर्याउने उद्देश्यले उक्त ऊर्जाकै सहयोगमा एउटा टेलिभिजन राखिएको छ भने गाउँभित्रको बाटोमा हिड्डुलका लागि स्टिल लाइट जडान गरेको कार्यकारणी अधिकृत गौतमले जानकारी दिए ।
२ वर्षअघि बुद्ध पावर कम्पनीले पनि जिल्ला प्रहरी कार्यालय मुस्ताङमा ३ किलोवार्ड क्षमताको सौर्य तथा वायु ऊर्जा परियोजनाको सफल परीक्षण गरेको थियो। हावाबाट बिजुली निकाल्ने उक्त परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । बुद्ध पावर कम्पनीले मुस्ताङमा ४० मेघावार्डसम्म हावाबाट बिजुली निकाल्ने सकिने निष्कर्ष निकालेको थियो । हावाबाट बिजुली निकाल्ने प्रयास मुस्ताङको कागबेनीमा २०४४ सालतिर पनि भएको थियो तर पर्याप्त भौगोलिक अध्ययन बिना जडान गरिएको उक्त परियोजना १ महिनामै फेल भएको थियो ।