• २०८० चैत्र ३० गते शुक्रवार

सार्वजनिक जग्गा अतिक्रमण रोक्न काठमाडौँका सबै नगरपालिका एकजुट

पढ्न लाग्ने समय : २ मिनेट

पौष, ३ काठमाडौँ । संघीय राजधानी काठमाडौँमा रहेका मुख्य समस्यामध्ये सार्वजनिक जग्गा अतिक्रमण, सेवाप्रवाहमा सुस्तता र विपद् व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि काठमाडौँका सबै नगरपालिका सहमत भएका छन् ।

काठमाडौँमा संघीय सरकारका प्रतिनिधि र स्थानीय सरकारका प्रतिनिधिबीच पहिलोपटक यस्तो सहमति जुटेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँको पहलमा बुधबार भएको छलफल कार्यक्रममा काठमाडौँ महानगरपालिकासहित जिल्लाका १० वटै नगरपालिकाका प्रमुख तथा प्रतिनिधिले काठमाडौंको समस्या समाधानका लागि समन्वयत्मक रूपमा अघि बढ्नुपर्नेमा सहमति गरेका हुन् ।

छलफल कार्यक्रममा महानगर र नगरपालिकाका प्रमुखहरूले संघीय सरकारका निकायको समन्वयमा अतिक्रमणलगायतका समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल बनाएर अघि बढ्ने सहमति र प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो प्रतिबद्धता सँगै स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रशासन, सुरक्षा निकाय, मालपोत, नापीलगायतका कार्यालयका प्रतिनिधि सम्मिलित कार्यदलमार्फत काठमाडांैमा लामो समयदेखि भएका अतिक्रमण तीव्र रूपमा हटाउने सहमति जुटेको छ ।

कार्यक्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्लाभरका ४२ स्थानका अतिक्रमण हटाउन र तत्काल कारबाही गरिएको प्रतिवेदन पेस गर्न बारम्बार ताकेता गर्दासमेत स्थानीय तहले अतिक्रमण हटाउन नसकेको भन्दै गुनासो गरे ।

उनले अख्तियारको निर्देशनअनुसार अतिक्रमण हटाउन नसक्नेहरूलाई नै कारबाही गरिने बताए । नगरपालिकाका प्रतिनिधिले स्थानीय तहको पहलबाट मात्रै अतिक्रमण हटाउन सम्भव नभएको बताएका थिए ।

उनीहरूले सर्वदलीय बैठकमार्फत राजनीतिक सहमति जुटाउनुपर्ने औंल्याएका थिए । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सुकुमबासीका नाममा अतिक्रमण बढेको बताए । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस