• २०८१ जेष्ठ ५ गते शनिवार

मन्त्रीको विदेश भ्रमण र गाडी मोह !

पढ्न लाग्ने समय : ३ मिनेट
  • खिमराज गिरी

असोज ०२,काठमाण्डौ । समाजवादी पार्टी नेपालको तर्फबाट ने.क.पा.को सरकारमा सामेल भएका स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई अहिले सामाजिक सञ्जालमा विदेश भ्रमणलिप्त मन्त्रीकोरुपमा उपमा दिइएको छ र यो कुनै आश्चर्यको विषय पनि होइन ।

आफु स्वास्थ्यमन्त्री भएदेखि हालसम्म करिब १५ पटक विदेश भ्रमण गरिसकेका मन्त्री यादव संविधान दिवस नजिकिँदै गर्दा सायद त्यस दिन भव्यताकासाथ सो दिवस मनाउनुपर्दछ भन्ने कञ्जुस्याइले हो या उनैका पार्टीका अर्का नेताको दवाव थेग्न नसकेर हो फेरि पनि १४ दिनको लागि अमेरिका भ्रमणमा जाँदैछन् । यसरी एकातिर देशैभर डेगु आतंकले जनजिवन अस्तव्यस्त भएको छ र अस्पत्तालमा विरामी मानिसहरुको घुँइचो लागेको छ । कयौं मानिसहरुको यो रोगको आतंकले मृत्यु भइसकेको छ ।

अझैपनि जनस्वास्थ्यकर्मीको अभावले पर्याप्त मात्रामा औषधि र जनसेवा उपलब्ध गराउन धौ धौ परिराखेको अवस्था छ । यस रोगवारेमा मानिसहरु भ्रममा परिराखेका छन् । स्थानिय सरकारका प्रतिनिधिहरुले केहि हदसम्म यस रोगको नियन्त्रणमा स्थानिय जनस्वास्थ्य स्वयम सेविकामार्फत उपचारको लागि पहल गरिराखेको अवस्था छ एकातिर भने अर्कोतिर केन्द्रिय सरकारका मन्त्री भने विदेस भ्रमणमा मस्ती छन् । सरकारको कामकाजमा देस र जनताको लागि फाइदा हुने कुरा हो र छ भने कुनैपनि जनप्रतिनिधि र सरकारी कर्मचारीहरु विदेस भ्रमण जानु उपयुक्त होला र हुन्छ पनि तर सत्तामा बसेर जनताले खाई नखाई सरकारलाई तिरेको करबाट उठेको रकमको सदुपयोगको सट्टा दुरुपयोग गरी जिन्दगी आफु र आफ्ना परिवार, नातागोता, इष्ट मित्र, देवता पित्र आदिको फाइदाको लागि प्रयोग गर्ने हो र देस र जनतालाई आपत र विपत परेको समयमा काम नलाग्ने हो भने सत्तामा वसिरहनु सायद उपयुक्त नहोला कि त मन्त्रीज्यू ?

सन्दर्भ अर्कोतिर गाडी मोहको ! सरकारमा रहेका प्रायः मन्त्रीज्युहले जनहित र देसको लागि राम्रै काम गरिराखेको अवस्था छ ता पनि केहि मन्त्रीहरुको गाडीमोहले गर्दा फेरि पनि अतितका ती सत्तासिनहरुको कालो कर्तुतको याद आउँछ । सायद जनताले यो सरकारलाई विलासी जिवन व्यतित गर्नको लागि मतदान दिई विजेताको पगरी गुँथाएको पक्कै पनि होइन होला र उनीहरुले पनि जनताको दैनन्दिनी बुझ्नुपर्ने हो तर यसो नभई केहि मन्त्रीहरुले भने मन्त्री भएको सान देखाउनको लागि आफुलाई मात्र नभई आफ्ना नातागोता इष्टमित्रलाई दैनिक आवत जावतमा सहज बनाउनको लागि अफिसमा करोडौको गाडी अनि घरमा पनि अर्को गाडी राखि सान, मान र इज्जत अनि प्रतिष्ठाको खेति गरेर कसरी देस र जनताको विकास हुन्छ ?

एकातिर प्रधानमन्त्रीले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर अगाडि बढ्न सवैलाई प्रेरणा दिएर काममा हरपल तल्लीन हुने तर अर्कोतिर सरकारमा वसेका कयौं मन्त्री र कर्मचारीहरुले भने मनलाग्दी विदेस भ्रमण र गाडी अनि सुख सुविधामा अल्झेर देस र जनतालाई गुमराहमा राख्ने हो भने के का लागि जनताले भोट दिएका त ? अनि कर्मचारीहरुलाई तलव ख्वाउनको लागि जनताको करको औचित्यता के हो त ? के प्रधानमन्त्री एक्लैले सवै कुराको प्रपञ्च मिलाउन सम्भव छ ? यसको लागि सहयोग सवैतिरबाट गर्नुपर्दैन ?

आज देस भ्रष्टाचारको क्यान्सर रोगले पिडीत छ र सरकारले पनि केहि मात्रामा भएपनि केमियोथेरापी गरिराखेको अवस्था छ ता पनि जनप्रतिनिधिहरुले समयमा नै सर्व साधारण जनतालाई परेको पिर मर्काहरु बुझि यसको निराकरणतिर लाग्नु नै आजको समयको माग हो र जनताले पनि त्यसैको लागि जनप्रतिनिधिलाई मत दिई जिताएका हुन कि सुख सयलको जिन्दगी जिउनको लागि हो !

प्रतिक्रिया दिनुहोस