साउन २, सलार्ही । रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इन्जिनियर रामजी बाबु यादव घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन ।
ईन्जिनियर रामजी बाबु यादवले सेवाग्राहीसँग गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने (विद्युतको पोल, तार, ट्रान्सफर्मर) कार्यको प्राविधिक मूल्याङ्कन सहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास, महोत्तरीबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
इन्जिनियर रामजी बाबु यादवलाई सेवाग्राहीसँग रू.५०,०००।– घुस वापतको रकम लिइसकेको अवस्थामा मलंगवा नगरपालिका वडा नं.१०, अशोका होटलबाट उक्त रकम सहित मिति २०७६।०४।०२ गते रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।