• २०८१ फाल्गुन २ गते शुक्रवार

तीन सयवटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्ब

पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, काठमाडौं । सरकारले तीनसय वटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने गरी साझा यातायातलाई सो रकम हस्तान्तरण गरिएको औपचारिक जानकारी गराएका हुन् । आगामी असोज महिनाभित्र काठमाडौंसहित देशका विभिन्न भागमा विद्युतीय बस सञ्चालनमा ल्याउने गरी खरिद गर्न साझा यातायातलाई  सो रकम उपलब्ध गराइएको पनि मन्त्री महासेठले बताए ।

सरकारले चालू आर्थिक वर्षभित्र यातायात सेवामा सहजता र वातावरण प्रदुषित हुन नदिने उद्देश्यका साथ साझा यातायातमा विद्युतीय बस सञ्चालन गर्ने प्रतिवद्धता जनाएको थियो । कार्यक्रममा बोल्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सरकारले दिएको सो रकमबाट पारदर्शी ढंगले विद्युतीय बस खरिद गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले विद्युतीय बसको सञ्चालनबाट नेपालको अर्थतन्त्र र वातावरणमा उल्लेख्य सुधार आउने विश्वास पनि व्यक्त गरे ।

सरकारले सवारी साधनबाट वातावरण प्रदुषित हुँदै गएपछि त्यसको विकल्पमा विद्युतीय बस सेवा सञ्चालनमा ल्याउन लागेको हो । मन्त्री महासेठले वातावरणीय सुधारका लागि सरकारले पूराना सवारी साधनहरुको सञ्चालनमा पनि रोक लगाउने तयारी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस