- बिनोद त्रिपाठी
श्रावन ०३,काठमाडौ । हाल सरकार चलाईरहेको राजनीति दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का खास मध्येका एक मान्छे हुन् शारदाप्रसाद अधिकारी। यी शारदा प्रसादले दाहाललाई पैसा दिन्छन्, घर दिन्छन् । किनकी, यिनी सबैभन्दा ठग ठेकेदार हुन् ।
शारदाप्रसादको शैलुङ कन्ट्रक्सन प्रा.लि कम्पनी छ । यी शैलुङ ग्रुपका अध्यक्ष भएर बिभिन्न आयोजनाहरु हात पार्छन् । काठमाडौ र यो वरपरका जति धुलो र हिलाम्य सडक छन्, यिनै शारदाप्रसादले ठेक्का लिएका सडक हुन् । यी मध्ये कलंकी–नागढुंगा र भक्तपुरको नगरकोट जाने सडक केहि उदाहरण सडक हुन् ।
शारदाप्रसादले ठेक्का हात पार्छन्, अनि अर्को ठेकेदारलाई रकम नाफा लिएर बेच्छन् । धेरैलाई थाहा हुँदैन, उनले ठेक्का लिएको सडक कुन हो भनेर । किनकी केहि ठेक्का लिएका निर्माणका कामहरुको ठेकेदार कम्पनीमा शारद प्रसादको नाम पनि हुँदैन । यिनले बिभिन्न बहाना बनाउँछन् र निर्माण अबधी बढाएर हरेक बर्ष क्षतिपुर्ति लिन्छन् । यो क्षतिपुर्ति लाख वा करोडको हुँदैन । अर्बौं अर्ब रकमको हुन्छ , यसमा मिलोमतो उनैका निकट स्थानीय ब्यक्ति, अदालत, इन्जिनियर, बिचौलिया, सरकारी कर्मचारी र कम्युनिष्ट कार्यकर्ता हुन्छन् ।
अनि शारदाप्रसादको कम्पनीले बाहिर यस्तो समाचार दिन्छ–‘स्थानीयको अबरोधले सडक बनाउन पाएनौं, सरकारले मुआब्जा नदिनाले काम ढिलाइ भएको हो, अदालतले फैसला ढिला गर्दा काम गर्न पाएका छैनौं ।’
यी शारदाप्रसादलाई ०६५ साल अघि एकछाक भात खानपनि मुस्किल थियो । जब माओबादी १७ हजार मान्छे मारेर शान्ति प्रक्रियामा आयो तब यिनी दाहालसंग निकट बने । दाहालसंग नजिक बनेर यो दश बर्षमा शारदाप्रसाद अर्बौंका अर्ब सम्पति जोडे । यिनले कुनै तरकारी बेचेनन् । रत्नपार्कमा कपडा बेचेनन् । कुनै ब्यापार गरेनन् । पसिना काडेर कुनै खेतीपाती गरेनन् । १० बजेदेखि ५ बजेसम्म जागिर खाएनन् । अहिले यिनीसंग ठुला ठुला महलहरु र ठाउँठाउँमा जग्गा छन् ।शारदाप्रसादसंग यति धेरै पैसा छ, न सरकारलाई न कुनै अनुशन्धान गर्ने संस्थालाई पनि भेउ छ । उनले आसेपासेलाई प्रशस्त धन जुटाइदिएका छन् । त्यति मात्र होइन, यिनै शारदा प्रसादको आडमा अन्य दर्जन बढि ठेकेदारले उसैको आडमा देशलाई यसरी नै लुटिरहेका छन् । यो सबै लुटलाई जोगाउने, ठेक्का मिलाई दिने र सामाजिक प्रतिष्ठामा घुलमिल गराईदिने काम पुष्पकमल दाहाल प्रचण्डले गर्छन् ।
२ बर्ष अघि अख्तियार अनुशान्धान आयोगले शैलुङ कन्ट्रक्सनलाई अनुशन्धान थालेको थियो । तर, यिनै दाहालको प्रत्यक्ष हस्तक्षेपले अख्तियार चुपचाप बस्यो । त्यसपछि, नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र दाहाल मिलेर अख्तियार अनुशन्धान आयोगलाई अप्रत्यक्ष रुपमा, सम्पति शुद्धिकरण आयोग र राष्ट्रिय अनुशन्धान बिभागलाई प्रत्यक्ष रुपमा प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा राख्ने रातारात निर्णय गरे ।
अहिले नेपालमा नेकपाका कुनै पनि नेता र यो दल निकटका कुनै पनि ब्यक्तिको सम्पति छानविन गरेर अख्तियार लगायतका संस्थाले कारवाही गर्न सक्दैन । भर्खर आर्थिक बर्ष सकिएको छ । सरकारले धेरै ठेकेदार कम्पनीलाई भर्खर दुई खर्ब बढि. रकम भुक्तानी दियो । शैलुङ कन्ट्रक्सन कम्पनीले पनि रकम बुझिसकेको छ । अब भन्नुस, ‘मुल संग्लो (सफा) नभई कुवा कसरी संग्लो हुन्छ ?’
जब पार्टी अध्यक्षले यस्ता ठेकेदारलाई संरक्षण गरेर पैसा खान्छन्, कहिले भ्रष्टाचार अन्त्य कहिले होला ? किनकी अहिले सरकार चलाउने नेपाल कम्युनिष्ट पार्टीले संस्थागत भ्रष्टाचार गरिरहेको छ ।
लेखक त्रिपाठी, नेपाली मिडिया क्षेत्रमा सम्पादक बनिसकेका छन् त्रिपाठीले समसामयीक बिषयमा कलम चलाउँदै आएका छन् ।