जेठ ५, काठमाडौं । श्री प्राथमिक विद्यालय, फतुहा महेशपुर ५, रौतहटका शिक्षिका आरती कुमारी मल्लिक को शैक्षिक प्रमाण पत्र नक्कली पाइएको छ ।
श्री प्राथमिक विद्यालय, फतुहा महेशपुर ५, रौतहटमा शिक्षक पदमा कार्यरत आरती कुमारी मल्लिकले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा उनको प्रमाण पत्र नक्कली रहेको पुष्टि भएको हो । उनले शिक्षक पदमा नियुक्ति पाउन र सेवा प्रवेश पश्चात सरकारी लाभ लिने मनसायले Bihar School Examination Board, Patna बाट प्राप्त गरेको हाइस्कुल तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति भएकी थिइन ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।