मंसिर २, भक्तपुर । नेपालमा नै तिव्र विकासको उदाहरणको रुपमा प्रस्तुत भएको भक्तपुरमा अरनिको राजमार्गमा सधैं उज्यालो र सधैं हरियाली अभियान व्यापक मात्रामा अघि बढिरहेको छ । त्यस्तै सडक दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक आइलाईन र डिरेक्सन बोर्ड समेत राख्ने अघि बढेको छ ।
पहिलो चरणमा अरनिको राजमार्ग अन्तरगत मनोहरादेखी राधेराधेसम्म करिव ४२० वटा सोलार बत्ती राख्ने कार्यको शुभारम्भ भएको । मध्यपुर नगरपलिकाको सहयोग तथा ए एम पि एम कम्पनीद्वारा आजबाट उक्त स्थानमा सोलार बत्ती राख्न शुरु गरिएको हो । दोस्रो चरणमा सूर्यविनायक नगरपालिका अन्तरगतका क्षेत्रमा लगाईने बताईएको छ । उक्त सडकमा राखिएको एक वटा सोलार बक्तिको करिव एक लाख रुपैंया बरावर पर्ने बताइएको छ ।
उक्त कार्यको शुभारम्भ गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा भक्तपुर क्षेत्र नं। २ प्रतिनिधिसभाका सांसद महेश बस्नेत, नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, स्थानीयवासीको व्यापकमात्रामा उपस्थितीका साथ शुरु गरिएको छ । भक्तपुरमा शुरु भइरहेको सोलार, ग्रीनरी, हनुमन्ते नदी तथा अरनीको राजमार्ग सफाई अभियान प्रभावकारी रुपमा भइरहेको छ ।
कार्यक्रममा बोल्दै सांसद बस्नेतले काठमाडौँ उज्यालो सहरको रुपमा रहेको तर भक्तपुर भने अध्यारो सडकको रुपमा रहेकोमा अबका दिनमा काठमाडौँका सडक झैं भक्तपुरका सडक पनि सधैं उज्यालो हुने उद्घोष गर्नुभयो । उहाँले सौन्दर्य बनाउन वातावरण विभागको सहयोगमा वेल्जीयमको दुवो लगाई अरनिको राजमार्गलाई ग्रीनरी बनाउने कार्य भइरहेको समेत तिव्र गतिका साथ अघि बढिरहेको बताउनुभयो ।
संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मनोहरा, चारदोवाटो र राधेराधेमा आकाशे पुल निर्माण हुने जानकारी गराउँदै उहाँले भक्तपुरमा जनताको चाहना र आवश्यकता अनुसार पुल, सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका साना ठूला आयोजनाहरु व्यापक मात्रामा निर्माणको क्रममा रहेको जानकारी गराउनुभयो । उहाँले हनुमन्ते नदीको करिडोर निर्माण सँगै अरनीको राजमार्गमा दुर्घटना तथा सवारी जामको समस्या हल हुने समेत बताउनुभयो । उहाँले भक्तपुरमा निर्माणको चरणमा रहेका राष्ट्रिय गौरवको आयोजनाका कारण भक्तपुरको मुहार नै फेरिने बताउँदै आर्थिक वृद्धिदरलाई उच्च बनाउने साथै रोजगारी तथा पर्यटकीय विकास समेत हुने उल्लेख गर्नुभयो ।
सांसद बस्नेतले हनुमन्ते नदीको कोरिडोर लगायतका विकास निर्माणका कार्यहरुमा भक्तपुर नगरपालिकाले असहयोग गर्ने गरेको उल्लेख गर्दै भक्तपुर नगरपालिका विकासमा बाधक नभई साधक हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नगरप्रमुख मदनसुन्दर श्रेष्ठले सोलार बत्ती र ग्रीनरी बनाउने कार्य हेर्दा सानो भए पनि दुरगामी महत्व राख्ने उल्लेख गर्नुभयो । उहाँले सडकमा सालार बत्ती र ग्रीनरी बनाउने मात्र नभई त्यसलाई संरक्षण गर्नु महत्वपूर्ण कार्य भएको बताउनुभयो ।