.धर्म सुनार, बाजुरा
असोज १ बाजुरा । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं १ को वडा कार्यालयमा मंगलबार राती आगजनी गर्ने प्रयास गरिएको छ । राती करिब १२ बजेतिर वडा कार्यालयमा डिजेल छर्केर आगजनीको प्रयास गरिएको वडाध्यक्ष वीरबहादुर रावलले जानकारी दिनु भएको छ ।
भदौ ३१ गते राती पानी परिरहेको बेला सबै सुतिसकेपछि कोही अज्ञात समुह आएर आगजनीको प्रयास गरिएको अध्यक्ष रावलको भनाई छ ।प्लाष्टिकमा डिजेरछर्केर आगो लगाउने प्रयास गर्दै गर्दा नजिकैका व्यापारीले जानकारी पाएपछि प्रयास असफल भएको वडाध्यक्ष रावलले बताए ।
प्लाष्टिकको पोकामा डिजेर छर्केर आगो लगाउनका लागि झ्याल फोड्दै गरेको आवाज स्थानीयले जानकारी पाएका थिए । उनीहरु उठेर वडा कार्यालयमाके भइरहेछ, भन्ने हल्ला चलेपछि अज्ञात समुह भागेको बताएको छ । झ्याल फुटाउने बाहेक अन्य कुनै क्षति नभएको वडा कार्यालयले बताएको छ । ‘कुनै कागजपत्रमा केही क्षति भएको छैन झ्याल मात्र तोडफोड गरेको छ’, अध्यक्ष रावलले भने । गाउँपालिकाको १ नम्बर वडा अछामसँगै जोेडिएको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरी टोली डोगडीबाट काँडा गएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । बझाङ अछाम र खप्तडसँग र नजिक भएकोले बिप्लव समुहले प्रयास गरेको अनुमान गरिएको छ ।
तर अनुसन्धान पछि मात्र त्यसबारे थाहा हुने प्रहरीले बताएको छ । वडा कार्यालयमा आगजनी प्रयास भएपछि गाउँपालिकाले अन्य वडाको पनि सुरक्षा सतर्कतामा चासो देखाएको छ । सरकारी संरचनामा आगजनी प्रयास गरिएको बाजुरामा यो पहिलो घटना हो ।