साउन २, काठमाडौं । मधेसका चर्चित नेता डा. सिके राउतको जीवनमा आधारित चलचित्र निर्माण हुने भएको छ ।
बुधबार राजधानीको ‘क्युज सिनेमा’मा आयोजित कार्यक्रममा ‘डा.सिके राउत द प्यासन’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा आधारित र ५० प्रतिशत फिल्मी कथा जोडेर चलचित्र निर्माण हुने जानकारी दिइयो ।
चलचित्र आउँदो छठ पर्वमा प्रदर्शन हुने समेत जानकारी गराइयो । विजेता गिरीको प्रस्तुति रहने चलचित्रको कार्यक्रममा चलचित्रको टिजर सार्बजनिक पनि गरिएको थियो ।
चलचित्र ‘डा.सिके राउत द प्यासन’ घोषणा कार्यक्रममा निर्माण कम्पनी माँ राधिका इन्टरनेशनल मुभिजले केक काटेको थियो ।
डा. सिके राउतको उपस्थिती रहेको कार्यक्रममा चलचित्रको निर्माण टिम र कलाकारबीच परिचय आदानप्रदान कार्यक्रम समेत भएको थियो । डा. राउतले आफूलाई डेढ महिनाअघि चलचित्र निर्माण टीमले भेट्न खोजेको र चलचित्र निर्माणप्रति जोश र जागर देख्दा उक्त टिमप्रति आफू सकारात्मक भएको बताए । ‘मलाई भेट्न आउँदा खासै बिश्वास लागेको थिएन । पछि उहाँहरुले पटक पटक भेट्न खोज्दा समय दिएँ र पछि राम्रो मान्छे भेटेँ भन्ने लाग्यो ।’ राउतले कार्यक्रममा भने ।
बाबुको लगानीमा बन्ने चलचित्रलाई सन्तोष साहले निर्देशन गर्नेछन् । चलचित्रमा भोजपुरी चलचित्रका सुपर पावर भनेर चिनिएका परदेशी शाहले डा. सिके राउतको भूमिका निभाउने छन्।
चलचित्रमा परदेशीका अलावा धुर्ब कोइराला,पुकार भट्टराई,बिशाल पहाडी,किरण थापा लगाएतका कलाकारको मुख्य अभिनय रहनेछ । एसोसियट निर्देशक नबराज शर्मा रहने चलचित्रलाइ पवन गौतमले छायांकन गर्नेछन् ।
रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन रहने चलचित्रमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ। चलचित्र नेपाली, भोजपुरी र हिन्दी भाषामा बन्ने छ। चलचित्रको लागत डेढ करोड अनुमान गरिएको छ ।