साउन २, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा सङठनको नाम र झण्डा अन्तिम टुङ्गो लगाएका छन । यसैसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठनको नाम र झण्डा विवाद सुल्झाएको छ । स्रोतका अनुसार छलफलमा अध्यक्षद्वय सहित महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य राम बहादुर थापा (बादल) समेत उपस्थित थिए ।
छलफलपछि नेकपाको युवा संगठनको नाम “राष्ट्रिय युवा संघ नेपाल” टुङ्गो लागेको हो। यस अघि साविक नेकपा (माओवादी केन्द्र) को युवा संगठन को रुपमा योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल) थियो भने, साविक नेकपा एमालेको युवा संगठनको नाम युवा संघ नेपाल थियो ।
हाल पार्टी एकिकरण पछि बनेको युवा एकता कार्यदलले दुवै संगठनको पुरानो नाम नराख्ने सहमति गरी नयाँ नामका रुमा राष्ट्रिय युवा संगठन नेपाल वा युवा संगठन नेपाल नाम राख्ने लिखित सहमति गरेको थियो । तर कार्यदलले प्रस्ताव गरेको नाम अनुमोदन नगरी जेठ ३ गते युुवा संगठनको संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ र सहसंयोजक रमेश पौडेललाई घोषणा गर्नुका साथै संगठनको नाम युवा संघ नेपाल घोषणा गरेको थियो । उक्त नामलाई तत्कालीन वाइसिएल नेपालले असहमती जनाउदै कार्यदलले सिफारिस गरेको नाम लागु गर्ने कुरामा अडान लिएको थियो भने साविकको युवा संघले पार्टीले घोषणा गरेको नाम लागु गर्नु पर्ने कुरामा अडान राखेको थियो । नेतृत्व टुङगिएको २ महिना पछि नाममा सहमति जुटे संगै झण्डा तत्कालिन युवा संघ नेपालले प्रयोग गर्दै आएको झण्डा नै कायम भएको छ ।
त्यस्तै स्थापना मिती जेठ १ गते हुने छ । संघको कार्यालय साविकको वाइसिएल नेपालको कार्यालय पेरिसडाँडा कोटेश्वरमा रहने छ भने कमिटी संख्या २५१ जनाको हुनेछ ।