असार ३, काठमाडौं । कर्मचारी यूनियनको आन्दोलनको कारण देखाउँदै पाँचतारे होटल हायात रिजेन्सी व्यवस्थापनले होटल खाली गरेको छ ।
पूर्व सहमति अनुसार सेवा सुविधाको माग गर्दै कर्मचारीले हड्ताल गरेपछि होटल खाली भएको हो । हायात रिजेन्सी होटलले एक विज्ञप्ती जारी गर्दै तत्काल केही समयका लागि बुकिङ नलिने र होटलमा भएका पाहुनालाई अन्य होटलमा सारिएको जनाएको छ ।
अत्यावश्यक सेवा सञ्चालन ऐनअनुसार होटल हड्ताल निषेधित क्षेत्र भएको उल्लेख गर्दै हायातले मजदुरको हड्तालका कारण बन्द गर्नुपरेको जनाएको छ । भारतीय लगानीकर्ता राधेश्याम सर्राफ सहितको लगानीको यो होटलमा रहेका पाहुनालाई दरवारमार्ग स्थित होटल याक एन्ड यतिमा सारिएको छ ।
२ सय ८० कोठाको यो होटलमा कर्मचारीले खाइपाइआएको सुविधा कटौती नगर्न र व्यवस्थापनले यसअघिका सबै सहमति कार्यान्वयन गर्न माग गरेका छन् । होटल व्यवस्थापनले भने सुरक्षाको कारण पर्यटक व्यवस्थापनमा असहज भएकाले पाहुनालाई बाध्य भएर अन्यत्र सार्नुपरेको जनाएको छ ।
यो होटल सरकारी समिति तारागाउँ विकास समिति र भारतीय लगानीकर्ता राधेश्याम सर्राफ समूह अन्तर्गत रहेको छ । होटललाई सेयर संरचना परिवर्तन गरेर सरकारी सेयर ३९ प्रतिशतबाट ९ प्रतिशतमा झारेको र ३ सय ४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ ।