असार ३, काठमाडौं । दोलखालाई राजधानीसँग जोड्ने मुख्य मार्ग चरिकोट-खाडीचौर सडक विस्तारको काममा लापर्बाही गरी अलपत्र पारेको भन्दै कार्यरत दुईवटा ठेकेदार कम्पनीलाई सडक विभागले दैनिक साढे सात लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।
एक्जिम बैंकको सहयोगमा ४ वर्ष अघि सुरु सिन्धुपाल्चोकको खाडीचौर बजारदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको सडक विस्तारको काममा ढिलासुस्ती र लापर्बाही गरी अलपत्र पारेको भन्दै कारबाही स्वरूप विभागले दुवै ठेकेदार कम्पनीबाट दैनिक साढे सात लाख जरिवाना भराउने निर्णय गरेको हो ।
सार्वजनिक खरिद नियमावली अनुसार काममा ढिलासुस्ती गर्ने दुवै ठेकेदारले दुई सय दिनसम्म सडक विभागलाई उक्त जरिवाना बुझाउनुपर्नेछ । ४ वर्ष अघि टेन्डर भएको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर यो सडक खाडीचौर बजारदेखि मुडेभन्दा तल्लो मोडसम्म २५ र त्यहाँदेखि चरिकोट बजारसम्म ३० किलोमिटर गरी दुईवटा प्याकेजमा ठेक्का लागेको थियो।
पहिलो प्याकेज ३९ करोड र दोस्रो प्याकेज ७० करोड रुपैयाँमा ठेक्का लागेको थियो ।