असार २, बझाङ । बझाङ सदरमुकाम चैनपुरको डुङ्ग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप सोमबार दिउँसो डौठीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ चने पाँचजना घाइते भएका छन्।
जीपको गेयर नलाग्दा दुर्घटना भएको हो। दुर्घटनामा परी मष्टा गाउँपालिका–१ का कलकबहादुर खड्का, उनकी श्रीमती ३८ वर्षीया जुनधारा खडका, १७ वर्षका छोरा सुनील खड्का, २३ वर्षका हिक्मत खडका, ५९ वर्षीया धौली खड्का, ६५ वर्षीया जुना खडका, ३० वर्षका भक्त द्वाल, २७ वर्षीया लक्ष्मी द्वाल, चालक २२ वर्षका सुरेन्द्र थापा र ९ वर्षकी विनिता खड्काको मृत्यु भएको छ ।
चैनपुरबाट गएको प्रहरी टोलीले भीरमा गएर ५ जना घाइतेको उद्धार गरेको छ। भीरमा अड्किएका घाइतेको तीन घण्टालगाएर उद्धार गरिएको थियो ।
गम्भीर घाइते, मृतक कलक खड्काकी छोरी संगीता खडका, २८ वर्षका गोकुल शाही, २८ वर्षकै अनिता द्वाललाई नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको छ। यस्तै २२ वर्षका जनक द्वाल र १० वर्षका गणेश खड्काको चैनपुरस्थित जिल्ला अस्पतलमा उपचार भइरहेको छ।
दुवैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।