असार ३, पाल्पा । जिल्ला अदालत पाल्पाले किशोरी बेचबिखनको आरोपमा तीन जना भारतीय नागरिक थुनामा राख्न आदेश दिएको छ ।
पाल्पा प्रहरीले २ जना बालिकासहित एक युवतीसँग विवाहको नाटक गरेर भारततर्फ लैजाने क्रममा भारत बिहारस्थित बेतीयाका २१ वर्षिय मनोहर कुमार, २० वर्षका अभिजित कुमार र १९ वर्षका कालु कुमारलाई पक्राउ गरेको थियो । जिल्ला न्यायधीशको एकल इजलाशले नेपाली किशोरी बेचबिखनको अभियोग लागेका उनीहरुलाई मानव बेचिबखन सम्बन्धी मुद्धामा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
बालिका र युवतीसहित उनीहरुलाई पाल्पाको रिब्दीकोट गाउँपालिका–३, हार्थोकबाट पक्राउ गरिएको थियो । गुल्मी धुर्कोट गाउँपालिकाका बालिका र युवतीलाई तीनै जना युवाले विवाह गर्ने भनेर भारततर्फ लैजान लागेका थिए । दुबै जना बालिका र युवतीको उद्दार गरी परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।