पुस, १ काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पूर्वाग्राही पत्रकारिताबाट आमनागरिक प्रभावित भइरहेकामा चिन्ता व्यक्त गर्दै मूलधारको सञ्चारमाध्यमले सही र तथ्यपरक सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गरेका छन ।
आज काठमाडौँमा गोरखापत्र संस्थानद्वारा प्रकाशित‘द राइजिङ नेपालको ५४ वर्ष पूरा गरेका अवसरमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले पूर्वाग्राही पत्रकारिताबाट आमनागरिक प्रभावित भइरहेकामा चिन्ता व्यक्त गर्दै मूलधारका सञ्चारमाध्यमले सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका हुन ।
उनले भने, ‘केही सञ्चारमाध्यमले तथ्यलाई स्वीकार गर्न नसक्दा जनतामा भ्रम सिर्जना भइरहेको छ, हामी तथ्यहरु दिँदैनौँ, राजनीतिक होहल्लामा कुद्छौँ, तथ्यमा नटेकी पूर्वाग्राही दृष्टिकोणबाट निर्देशित सञ्चारमाध्यम आफ्नै कारणले समस्यामा छन् ।’
आफ्ना गतिविधिलाई लिएर हुने आलोचनाबाट सरकार रत्तिभर नडराउने बताउँदै उनले हचुवाका भरमा नभई तथ्यमा आधारित रहेर आलोचना गर्न लेखक एवं पत्रकारलाई आग्रह गरे । कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले समाचारको विषयवस्तुलाई पठनीय बनाउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पाठ्य सामग्रीमा सुधार ल्याउने प्रयास निरन्तर भइरहेको बताए ।
उनले भने, ‘कुनै बेला ‘गोरखापत्र’को काम सरकारको गलत काम छोप्नु थियो होला तर अहिले हामीले त्यस्तो प्रवृत्ति परिवर्तन गरेका छौँ, आलोचनात्मक चेत हामीले गुमाएका छैनौँ, आमजनताप्रति बफादार हुने गरी अगाडि बढेका छौँ, यो कुनै दलको, सरकारको होइन, जनताको पत्रिका हो ।’
उक्त कार्यक्रममा ‘द राइजिङ नेपाल’को श्रीवृद्धिमा विशिष्ट योगदान गर्ने डा तारानाथ शर्मा, पी खरेल, जबाहरकृष्ण मानन्धर, लोकदीप थापा, विजयलाल श्रेष्ठ, आदित्यमान श्रेष्ठ, देवराज दाहाललगायतलाई सम्मान गरिएको थियो ।