• २०८१ बैशाख १३ गते बिहिवार

आज नेपाली काङ्ग्रेस, नेपाल तरुण दललगायतले कालो दिवस मनाउँदै

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १ काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा नेपाल तरुण दललगायतले प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज कालो दिवसका रुपमा मनाइँदैछ ।

विसं २०१७ पौष १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात् गरेका थिए ।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका पहिलो निर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो ।

पौष १ गते तरुण दललगायत संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनलाई कालो दिवसका रुपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज नेपाली काङ्ग्रेस र नेपाल तरुण दललगायतले देशभर विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस