- सागर थापा /महेन्द्र सिंह
साउन १, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले चोरीमा समाबेश हुँदै आएका एक जना बालकलाई पक्राउ गरेको छ।उनलाई पक्राउ गरेपछि अनौठो कुरा बाहिर आएको छ। आठ ठाउँको चोरीमा संलग्न रहेका नेपालगञ्ज २०, मदनापुरका १६ वर्षीय दामु शाहीलाई प्रहरीले पक्राउ गरेको हो।उनी गत शनिबार नेपालगञ्जका नौ वटा पसल चोरीमा संलग्न रहेको प्रहरीले दावी गरेको छ।
एकैराती नौ वटा पसलमा चोरी गर्दा दामु र अर्का एकजना रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले दामु व्यवसायिक चोर भएको बताए। ‘उसको काम नै चोरी गर्ने हो। यो भन्दा पनि अझ अर्का एकजना सिनियर छन्। ऊ भागेको छ। हामीले खोजी गरिरहेका छौ प्रबक्ता डिएसपी सापकोटाले भने, जिल्लामा यिनीहरुको समूहमा तालिम प्राप्त चोरहरु रहेको खुलेको छ।’
प्रहरीका अनुसार, यसअघि दामुले भुजइगाउँ, कारकादो, बर्दियाको बाँसगढी, खजुरामा चोरी गरेका थिए।दामुको टोलीमा १२-१३ वर्षका ४-५ जना बालकहरु रहेका छन्। बालकलाई दामु र उसको एकजना साथीले सटरको ताला फोर्नलगायत चोरी गर्न सिकाउने गरेको खुलेको छ।
दामु बैशाख १ गते सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट दश हजार धरौटीमा छुटेका थिए। दामुले १८ वर्ष नहुँदासम्म चोरी गर्दा प्रहरीले पक्राउ गरिहाले पनि छोड्ने भन्दै बालकलाई चोरीकर्ममा लगाउने गरेको पाइएको छ।
चोरीमा बालकहरुको विभिन्न समूह रहेको छ। टोली नेताको थर अनुसार समूहको नामाकरण गर्ने गरिएको छ। प्रहरीले सबै बालकलाई नियन्त्रणमा लिएर सुधार गृहमा पठाउने तयारी गरेको छ।