वैशाख ४, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ‘ब्रेक थ्रु’ गरेका छन् । ०७४ कार्तिक २० देखि बबई किनारबाट भित्र पसेको टनेल बोरिङ मेसिन (टीबीएम) मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोट थिचेर बाँकी रहेको दुई सय मिटर खण्ड ब्लास्ट गर्दै भेरी किनारमा निकालेका हुन् ।
ब्रके थ्रु गरिसकेपछि कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पनि प्रविधिको प्रयोग गर्न सक्छ भन्ने प्रमाणित भएको बताए । उनले अब नेपालमा विकासको नयाँ युग सुरु भएकाले अन्य आयोजनाहरुमा पनि बिटिएम मेसिनको प्रयोग गनुपर्ने बताए ।
त्यस्तै जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनाले जनताको जलविद्युत आयोजना भएकाले ३९ प्रतिशत शेयर कर्णालीका जनताले पाउने बताए ।
यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने आयोजनाबाट उत्पादन हुने ४८ मेघावाट विद्युत कर्णाली प्रदेशलाई उपहारका रुपमा दिन आग्रह गरे । प्रभावित क्षेत्र र कर्णालीको गरिवी अन्त्यका लागि ४८ मेघावाट विद्युत कर्णाली प्रदेशले उपहारका रुपमा पाउने विश्वास व्यक्त गरे ।
त्यस्तै प्रदेश नं. ५ का मुख्यमन्त्री शंखर पोखरलेले भने बाँके र बर्दियाले कर्णालीबासीलाई चामल सहुलियत दिने बताए । ‘कर्णालीवासीलाई भोकभोकै मर्न दिँदैनौँ, तपाईहरुको पानीले उत्पादन भएको चामल तपाईलानै दिने हो ।’ उनले भने ।
नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएपछि ०७६ चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि नै पूरा भएको आयोजना निर्देशक सञ्जीव बरालले जानकारी दिए ।
उनका अनुसार टीबीएमले सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तिखालबाट चिप्लेसम्म ४ दशमलव २ डायमीटरको कूल १२ दशमलव २१० किलोमिटर लम्बाइको सुरुङ खनेको छ । विगतको जस्तो ड्रिलिङ र ब्लास्टिङ जस्ता परम्परागत ढंगबाट भन्दा टीबीएम मेसिनबाट १० गुणा बढी दैनिक २० मिटर सुरुङ खनेपछि लक्ष्य भन्दा अगाडि नै सम्पन्न भएको निर्देशक बरालको भनाइ छ ।
पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन र तेस्रो चरणमा बाँके–बर्दियामा सिञ्चाइ योजना विस्तार गर्ने योजना छ । चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । त्यही पानीबाट बबई किनारमा ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।
जमिनमा सिचाई सुविधा उपलब्ध भएपछि आयोजनाबाट सरकारलाई वार्षिक तीन अर्ब र उत्पादित विद्युतबाट ४ अर्ब आम्दानी हुने प्रक्षेपण रहेको आयोजना प्रमुख बरालले बताए । साढे १० अर्बमा सम्झौता भएको सुरुङका लागि फागुन मसान्तसम्म झण्डै ८ अर्ब खर्च भएको छ । सिञ्चाई विभागद्वारा संशोधित गुरुयोजना अनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायत सबै काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुनेछ । आर्थिक वर्ष ०६८÷६९ मा निर्माण शुरु भएको आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष ७९÷८० सम्म सक्ने लक्ष्य लिइएको छ ।