चैत ३, काठमाडौं । कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका ईलामका तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकाललाई पुन अर्को मुद्दामा आरोप- पत्र दायर गरिएको छ । नगरपालिकाको मूल खाताबाट आफ्नो खातामा ठुलो रकम स्थानान्तरण गरी आर्थिक अनियमितता गरेको आरेपमा थुनामा रहेका उनलाई जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा लेखा अधिकृतको रुपमा कार्यरत रहदा पनि ठुलै रकम अनियमितता गरेको रहस्य खुल्न आएको हो । ।
उनले आफूलगायत विभिन्न व्यक्तिका नाममा रकम निकाली भ्रष्टाचार गरेको भन्ने व्यहोराको उजुरीहरुको सम्बन्धमा दुबै मुद्दाको अनुसन्धान सम्पन्न गरि बिशेष अदालतको आदेशले पुर्पक्षको लागी कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका छन । २०७५।०४।१८ देखि थुनामा रहेका रबिनचन्द्र ढकालले जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा लेखा अधिकृतको रुपमा कार्यरत रहेको अबधिमा समेत अनियमितता गरेको भन्ने उजुरीको अनुसन्धान गर्ने सिलसिलामा पुन अनियमितता गरेको देखिएको छ । निजको नाममा रहेका राष्ट्रिय वणिज्य बैंक र एन.एम.बी.बैंक लिमिटेडका खाताहरुमा जिल्ला स्वास्थ्य कार्यालयको विभिन्न मिति र च.नं. का पत्रहरूमा कार्यालयमा रहने प्रति र बैंकलाई पठाउने प्रतिमा व्यहोरा फरक-फरक भएका गलत लिखत तयार पारी जम्मा रू१४,८९,३०६ सरकारी रकम बदनियतसाथ अनधिकृतरुपमा व्यक्तिगत खातामा जम्मा गरी निजी प्रयोगमा लगाई हिनामिना गरेको देखिन आएको हो ।
उनले जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा लेखा अधिकृतको रुपमा कार्यरत रहेको समयमा अनियमितता गरेको रकम आमा को नाममा राख्ने गरेकाले उनकी आमा प्रेम कुमारीलाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौँमा आरोप -पत्र दायर गरिएको छ ।