चैत ३, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले मन्त्री फेरबदल हुने विषयमा भावुक नबन्न अन्य मन्त्रीहरुलाई सुझाव दिएका छन् । मन्त्री पुनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन जतिदिन मन्त्री हुन्छु, त्यतिन्जेल राम्रोसँग काम गर्छु भनेर प्रतिज्ञा गरेको र आफूले राम्रोसँग काम गरेको सुनाए ।
मन्त्री परिर्वतनको विषय मिडियाका लागि ठीकै होला तर हाम्रो लागि मन्त्रालयले गर्ने काम नै मूख्य हो । मन्त्री हेरफेरको कुरा भन्दा पनि आफ्नो दायित्व के हो त्यो गर्ने हो । मैले आफ्नो दायित्व के हो त्यो गरिरहेको छु । हाम्रा अरु केही मन्त्री साथीहरुले भावुक भएर पनि अभिव्यक्ति दिनुभएको भन्ने कुरा आएको छ । यो विषयमा भावुक हुन जरुरी छैन । हामी पार्टीले दिएको जिम्मेवारी, विधायक भएर पनि धेरै काम गर्न सक्छौँ । उनले मन्त्री फेरिने विषय महत्त्वपूर्ण विषय नभएको बताए ।
आइतबार मन्त्रालयले गरेको वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले मन्त्री परिर्वतको कुरा सामान्य रहेको बताए । उनले प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री परिर्वन गर्न सक्ने भन्दै यो विषयमा भावुक नहुन अन्य मन्त्रीहरुलाई सुझाव समेत दिए ।