चैत ३, दैलेख । दैलेखको दुल्लू नगरपालिकामा गुराँसको जुस उत्पादन गरिने भएको छ । यस भु-भागमा फुल्ने गुराँसलाई प्रशोधन गरी जुस उत्पादन गर्न लागिएको हो ।
दुल्लू नगरपालिका ११ स्थित ज्वाला मालिका एग्रो प्रा.लि.को आयोजनामा जुस उत्पादनका लागि शनिबार तालिम संचालन गरिएको छ । जुस उत्पादन तालिमको उद्घाटन गर्दै दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले वनमा रहेका वस्तुबाट अर्गानिक जुस उत्पादन गर्न लागेको भन्दै यसले यूवास्वरोजगार र गरिबी निवारणमा टेवा पुग्ने बताए ।
कार्यक्रममा ज्वाला मालिका एग्रोका संचालक किरण भण्डारीले सामुदायिक वनमा भएका वस्तुलाई प्रयोगमा ल्याई आय आर्जनमा जोड्न लागिएको बताए ।
तालिम सुर्खेत बायोकेमीकल एण्ड हाइजिन ईन्डष्ट्रीज को सहयोगमा संचालन भएको थियो भने राजेन्द्र विष्टले प्रशिक्षण दिएका थिए । जुसलाई ल्याव टेष्टका लागि काठमाडौं पठाउने तयारी भएको छ । जुसको ल्याव टेष्ट भइसकेपछि मात्र बजारमा उपलब्ध गराइने संचालकले जानकारि दिए ।