• २०८१ माघ ८ गते मङ्गलवार

स्वास्थ्य सेवा विभाग बेथिति, ३ करोड ४४ लाखको फर्जी बिल

पढ्न लाग्ने समय : ४ मिनेट

साउन ३१, काठमाडौं। स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका पदाधिकारीको मिलेमतोमा औषधि आपूर्तिका क्रममा फर्जी बिल बनाएर झन्डै ३ करोड ४४ लाख रुपैयाँ अनियमितता गरेको देखिएको छ । विभागका व्यवस्थापन महाशाखाका निर्देशक रमेशप्रसाद अधिकारी, शाखा प्रमुख डा. सुरेन्द्रप्रसाद चौरासियालगायतको संलग्नतामा ३ करोड ४४ लाख ३२ हजार १५० रुपैयाँको नक्कली बिल बनाएको कागजात राजधानी दैनिकले फेला पारेको छ । फरकफरक मितिमा एउटै दाखिला नम्बर चढाई औषधि आपूर्ति गरेको पाइएको हो, जुन कानुनसम्मत मिल्दैन ।

व्यवस्थापन महाशाखाअन्तर्गत एउटै सप्लायर्सले एक आर्थिक वर्षमा ठेक्का नम्बर एनसीवी नम्बर डीओएचएस÷जी÷एनसीवी–४८÷२०७४÷७५को रकम सम्बन्धमा ००७ नम्बरको बिललाई नियतपूर्वक दुईवटा फरकफरक मिति बनाई पेस गरिएको बिल ती पदाधिकारीको मिलेमतोमा स्वीकृत गरेको पाइएको छ ।

विभाग स्रोतका अनुसार आकाश अन्तरिक्ष जेभीले जीवनजल आपूर्तिका लागि व्यवस्थापन महाशाखासँग एक वर्षमा दुईवटा ठेक्का गरेको थियो । सिनकम फर्मुलेसन भारतबाट उत्पादित एउटा ठेक्का एनसीवी ४८÷०७४–०७५ र अर्को ठेक्का २०७४÷०७५ मै आईसीवी ४१ दशमलव १९ मा जीवनजल आपूर्ति गर्नुपर्ने थियो । जुन जीवनजल आईसीवी ४१ दशमलव १९ मा स्वास्थ्य सेवा विभागले फेल गराएको थियो । तर, त्यही कम्पनीको गुणस्तरहीन जीवनजलको रकम भुक्तानी गरेको पाइएको हो । यसरी भुक्तानी गर्दा पनि लाखौं रुपैयाँ अनियमितता भएको स्रोतको दाबी छ ।

एउटै दाखिला नम्बर फरकफरक मितिमा चढाई औषधि आपूर्ति
– गुणस्तरहीन औषधिको रकम भुक्तानी

आकाश अन्तरिक्ष जेभी सप्लायर्सले २०७५ साल ८ फागुनमा ३ करोड ४४ लाख ३२ हजार १५० भुक्तानी माग गरेको थियो । एउटै बिल नम्बरमा फरकफरक दाखिला गरेको पाइएको छ । ११ मंसिर २०७५ मा बिल नम्बर ००७ मा कुल रकम ३ करोड ४४ लाख ३२ हजार १५० दाखिला भएको देखाइएको छ भने सोही बिल नम्बर ००७ मा नै फेरि अर्को मिति २०७५ साल २३ मंसिरमा ८८ लाख ७७ हजार रुपैयाँ दाखिला भएको देखाइएको छ । यो तथ्यबाट पनि अनियमितता भएको सहजै अनुमान गर्न सकिने विभाग स्रोतले दाबी गरेको छ । बिलको दाखिला नम्बर ००३६ र ००१९ रहेको छ ।
जुन बिलको प्रमाणित गर्नेमा आपूर्ति व्यवस्थापन शाखाका निर्देशक रमेशप्रसाद अधिकारी, प्रमुख डा. सुरेन्द्रप्रसाद चौरासिया र स्टोर किपर भोला अधिकारी रहेका छन् । उक्त फर्जी कारोबारलाई वैध बनाउन तत्कालीन स्वास्थ्य सेवा विभागका महानिर्देशक गुणराज लोहनीको अध्यक्षतामा बैठक बसेको देखिएको छ ।

२०७६ साल ३० वैशाखमा बसेको बैठकमा व्यवस्थापन महाशाखाका निर्देशक अधिकारी, आपूर्ति व्यवस्थापन शाखा प्रमुख चौरासिया, स्वास्थ्य सेवा विभाग आर्थिक प्रशासन शाखा प्रमुख लेखा नियन्त्रक मधु पोखरेल, स्वास्थ्य सेवा विभाग कानुन शाखाका कानुन अधिकृत कृष्ण पौडेल, व्यवस्थापन महाशाखाका शाखा अधिकृत गगनसिंह विष्ट, स्वास्थ्य व्यवस्थापन महाशाखाका रणबहादुर घर्तीको उपस्थिति रहेको थियो ।
बैठकले आपूर्तिकर्ता आकाश अन्तरिक्ष मेडिसिन जेभीलाई प्रक्रिया पूरा गरी नियमानुसार भुक्तानी प्रक्रियाअघि बढाउने निर्णय गरेको थियो । साथै सोहीअनुसार सप्लायर्सलाई २०७५ फागुन ७ गतेको बिल नम्बर ००७ र सो बिलअनुसार बनाइएको दाखिला ००३६ अनुसारको झन्डै ३ करोड ४४ लाख रुपैयाँको सक्कल दाखिला फिर्ता गर्र्ने निर्णय गरेको थियो ।
००३६ दाखिलामा अहिलेसम्म पनि औषधि आपूर्ति नभएको देखिएको छ । जबकि, सो औषधि २०७५ मंसिर २ गते प्राप्त भई २०७५ फागुन ८ गते दाखिला भएको फर्जी कागज बनाइएको छ ।

००७ नम्बरको बिल दुई ठाउँमा फरकफरक मितिमा फरकफरक रकम र फरकफरक दाखिला बनाई पेस गरेको देखिएको छ । ००७ नम्बरको बिलबाट ००३६ दाखिला बनाएको छ । सो बिल स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक गुणराज लोहनीले फिर्ता गरेका थिए । विवरणमा दाखिला नम्बर ००१९, दाखिला नम्बर ००२०, दाखिला नम्बर ००१४ रहेकोमा दाखिला नम्बर ००१९, दाखिला नम्बर ००२० पछि दाखिला नम्बर ००१४ उल्लेख छ । यसरी हेर्दा दाखिला फर्जी भएको पुष्टि हुन्छ ।
स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्रप्रसाद चौरासियाले फरकफरक मितिमा विभिन्न औषधि आएको भन्दै आएका औषधिको मात्रै भुक्तानी रकम उपलब्ध गराइएको दाबी गरे । उनले भने, ‘औषधि विभिन्न मितिमा दाखिला भएर भुक्तानी भएको छ । जति आएका औषधि छन्, आएका औषधिको मात्रै भुक्तानी गरियो । गुणस्तरहीन औषधि खरिद गरेका छैनौं ।’ यो समाचार आजको राजधानी दैनिकका लागि प्रशान्त वलीले तयार पार्नु भएको हो । 

प्रतिक्रिया दिनुहोस