असार १, काठमाडौं । नापी कार्यालय लगनखेल ललितपुरका नापी सर्वेक्षक उपेन्द्र प्रसाद यादव र कार्यालय सहयोगी राजन विष्ट उपर आरोप-पत्र दायर गरिएको छ ।
जग्गा नापजाँच गर्ने काममा आलटाल गरी रेखाङ्कन गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग रू. ३०,०००।–(तीस हजार) घुस / रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
उपेन्द्र प्रसाद यादवले सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी राजन विष्टलाई उक्त घुस रकम लिन लगाएका हुन ।
घुस रकम लिइसकेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान हुँदा कार्यालय सहयोगी राजन विष्टलाई घुस रकम लिनको लागि सर्वेक्षक उपेन्द्र प्रसाद यादवले भनेको कुरालाई सहमति जनाएका हुन ।
उनिहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारि दिनुभयो ।