- सागर थापा
जेठ १, कास्की । हाल देशभरी नै नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विभिन्न प्रकारका जनचेतनामुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरेहको छ । यसै क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा यही जेष्ठ ०२ गते “प्रहरी संग एक दिन” कार्यक्रम सम्पन्न गरेको छ ।
प्रहरी, समुदाय, स्थानिय तह साथै विध्यालयको समन्वयात्मक भुमिकाबाट समाजलाई विभिन्न विकृती बिसंगतीहरुबाट मुक्त पार्ने उदेश्यले लागु गरिएको उक्त अवधारणा अनुरुप नेपाल प्रहरीले विभिन्न जनलक्षित चेतनामुलक कार्यक्रमहरु गरीरहेको छ । वेथानी बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई प्रहरी सेवा प्रवाहको प्रणाली, प्रहरी सेवाको किसीम साथै प्रहरी मेरो साथी, मुस्कान सहितको प्रहरी सेवा र समुदाय प्रहरी साझेदारी लगायतका अवधारणाका विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले प्रष्ट पार्नुभएको थियो ।
उक्त कार्यक्रममा उपस्थित विध्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाहरुको अवलोकन गराउनुका साथै उक्त शाखाहरुबाट प्राप्त गर्न सकिने प्रहरी सेवाको विषयमा समेत जानकारी गराईएको छ । भोलिको समाजलाई दिशानिर्देश गर्ने आजका विद्यार्थी वर्गलाई उनिहरुको सामाजिक उक्तरदायित्व प्रति समेत जानकार बनाउनु आवश्यक रहेकाले विद्यार्थीहरु संग उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी प्रहरी उपरीक्षक ओम बहादुर रानाले बताउनुभयो ।