भाद्र २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दैनिक गतिविधि र कार्यशैलीमा अब परिवर्तन गर्ने भएका छन् । उनको निजी सचिवालयबाट प्राप्त जानकारी अनुसार प्रधानमन्त्री अब पहिलाको जस्तो जुनसुकै कार्यक्रममा जाने शैलीमा परिवर्तन हुने भएको छ । अब जानैपर्ने काममा बाहेक उनले ‘टेबल वर्क’ मा बढी ध्यान दिनेछन् ।
सचिवालयका एक उच्च अधिकारीले भने,‘‘उहाँले अब बालुवाटार वा सिंहदरबारबाट नै गतिविधिको अनुगमन गर्ने र काम गर्ने गर्नुहुनेछ । यसअघि उहाँको दौडधूप बढी भएको र उपलब्धि भने त्यति नदेखिएकोले अब दौडधूप नगरी अनुगमनको कार्यलाई बढी ध्यान दिने तयारी गर्नुभएको छ ।’’
प्रधानमन्त्रीले गर्ने भनेको हालैको पूर्वाधार सम्बन्धि एउटा अन्तर्राष्ट्रिय तहको सम्मेलनमा उपप्रधानमन्त्रीलाई उद्घाटन गर्न पठाइएको थियो भने आज हुने बाल दिवसको कार्यक्रमको जिम्मेवारी पनि शिक्षामन्त्रीलाई दिइएको सचिवालय स्रोतले जनाएको छ ।
यसैगरी यही सेप्टेम्बर महिनामा सुरु हुने संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भाग लिन पनि प्रधानमन्त्री ओली नजाने भएकोले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने तय भएको छ । परराष्ट्रमन्त्री ज्ञवाली यही सेप्टेम्बर २२ तारेखका दिन न्यूयोर्क जाने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभामा यसपालि नजाने भएकाले परराष्ट्रमन्त्रीले नै महासभामा नेतृत्व गर्ने तय भएको जानकारी गराए । सचिवालयका अधिकारीले जनाए अनुसार अघिल्लो वर्ष प्रधानमन्त्रीको विदेश यात्रा पनि धेरै भएकोमा यसपालि भने विस्तारै कम हुँदै जाने गरी तयारी गरिएको छ ।
प्रधानमन्त्रीलाई पछिल्लो समयमा दुईपटक सिंगापुर लगेर स्वास्थ्य उपचार गरिएको थियो । ‘‘उहाँको स्वास्थ्य अवस्था अहिले ठीक छ, उहाँले नियमित रुपमा कामपनि गरिरहनु भएको छ,’’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. अर्यालले भने । उनी सिंगापुरमा करिब दुईसाता स्वास्थ्य लाभ गरेर पछिल्लो पटक भदौ २० गते स्वदेश फर्किएका थिए ।
प्रधानमन्त्री लामो समयदेखि मृगौलाको बिरामी हुन् । कामको धपेडीको कारण देखाउँदै उनका निजी चिकित्सक समूहले प्रधानमन्त्रीलाई जाँचको लागि सिंगापुर जान आग्रह गरे बमोजिम उनी त्यसतर्फ गएका थिए । प्रधानमन्त्री राति १–२ बजेसम्म विभिन्न काममा व्यस्त हुने र बिहान पनि सबेरै उठ्ने भएकोले धपेडीका कारण उनलाई समश्या पर्न सक्ने चिकित्सक टोलीले यसअघि बताएको जनाइएको थियो ।