भाद्र २९, काठमाडौं । साविक विजेता युभेन्ट्स इटालियन सिरिएमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिएको हो ।
क्रिस्टीयानो रोनाल्डो लगायत स्टार खेलाडीलाई उतारे पनि युभेन्ट्सले गोल गर्न सकेन । खेलभर युभेन्ट्सलाई टक्कर दिएको फियोरेन्टिनाको प्रयास पनि असफल बनेको थियो ।
बराबरीसँगै तीन खेलबाट सात अंक बनाएको युभेन्ट्स तालिकाको दोस्रो स्थानमा छ । फियोरेन्टिनाको एक अंक छ । शीर्ष स्थानमा रहेको इन्टर मिलानको समान खेलबा नौ अंक पुगेको छ । शनिबार राति भएको खेलमा इन्टरले उडिनेसलाई १–० गोलले हराएको थियो ।
इन्टरको जितमा स्टेफानो सेन्सीले ४४औं मिनेटमा गोल गरेका थिए । पराजित उडिनेस तीन अंक सहित १४औं स्थानमा छ । अर्को खेलमा नापोलीले साम्पडोरियालाई २–० गोलले पराजित गरेको छ । जितसँगै ६ अंक बनाएको नापोली चौथो स्थानमा छ । अंकविहिन साम्पडोरिया तालिकाको अन्तिममा छ ।