• २०८२ बैशाख ४ गते बिहिवार

बार्सिलोनाको सानदार जित

पढ्न लाग्ने समय : २ मिनेट

भाद्र २९, काठमाडौं । लुईस स्वारेजले दुई गोल गरेको खेलमा साविक विजेता बार्सिलानाले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ गोलले हरायो । बार्सिलोनाको जितमा लुईस स्वारेजले दुई, अन्शु फाती, डी जोङ र जेरार्ड पीकेले एक एक गोल गरे । भ्यालेन्सियाका लागि केभिन गामिरो र म्याक्सी गोमेजले एक एक गोल गरे ।

पहिलो रोजाईमा परेको बार्सिलोनाका १६ बर्षीय फातीले दोस्रो मिनेटमै खाता खोलेका थिए । सातौ मिनेटमा गोल गर्दै डी जोङले बार्सिलोनाको अग्रता दोब्बर बनाए । पाहुना टोलीका गेमिरोले २७औं मिनेटमा एक गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरे । ५१औं मिनेटमा जेरार्ड पीकेले गोल गर्दै बार्सिलोनालाई अगाडी बढाए । ६१औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४–१ को स्थितीमा ल्याए ।

८२औं मिनेटमा स्वारेजले ब्यक्तिगत दोस्रो गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा गोमेजले गोल गर्दै भ्यालेन्सियाको हारको अन्तर घटाएका थिए । जितसँगै चार खेलबाट सात अंक बनाएको बार्सिलोना चौथो स्थानमा उक्लिएको छ । चार अंक बनाएको भ्यालेन्सिया १४औं स्थानमा छ ।

ला लिगाकै अन्य खेलमा शीर्ष टोली एट्लेटिको रियल म्याड्रिड सोसियडाडसँग २–० गोलले पराजित भएको छ । सोसियडाडको जितमा मार्टिन ओडेगार्डले ५८औं र नाचो मोनारेलले ६१औं मिनेटमा गोल गरे । हारेपनि शीर्ष स्थानमा रहेको एट्लेटिकोको नौ अंक छ । सोसियडाड सात अंक सहित छैटौं स्थानमा छ । अर्को खेलमा भिल्लारियलले लेगानेसलाई ३–० गोलले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस