साउन ३०, काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन भएको छ । कालिकास्थानस्थित उनकै घरमा बिहीबार बिहान चार बजेतिर उनको निधन भएको हो ।
मदनमणि दीक्षितको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गतेका दिन भएको थियो । लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे । माधवी ग्रन्थका लागि उनलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो ।
निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो ।आजै उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।