• २०८१ फाल्गुन ७ गते बुधवार

आज जनै पूर्णिमा

पढ्न लाग्ने समय : ३ मिनेट

श्रावण ३०, काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमाको दिनलाई ऋषि तर्पणी, रक्षाबन्धन र जनै पूर्णिमा भनिन्छ। यस दिन हिन्दूहरूले जनै पूर्णिमाको पर्व धुमधामसँग मनाउने गर्छन्। बौद्धमार्गीहरूका लागि पनि यो महत्त्वपूर्ण दिनको रूपमा रहेको छ। यस दिन गौतम बुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्ध ग्रन्थ **ललित विस्तारमा** उल्लेख गरिएको हुनाले यस दिन स्वयम्भूदेखि सबै शिवालय एवं देवालयहरूमा ठूलो मेला लाग्ने गर्छ।

जनै पूर्णिमाका दिन व्रतबन्ध संस्कार गरेका हिन्दू तागाधारीहरूले दाह्री, कपाल, नङ काटेर बिहान स्नान गरी शुद्ध भएर, शुद्ध वस्त्र पहिरेर विधिपूर्वक ब्राह्मणहरूद्वारा मन्त्र एवं स्तुति र पाठ गर्दै पुरानो जनै निकाली नयाँ जनै धारण गर्दछन्। रक्षाबन्धन भने सबैले बाँध्ने गर्दछन्। जनै धारण गर्दा र रक्षाबन्धन बाँध्दा शरीरको रोग ब्याध निको हुने र रक्षा पनि हुने विश्वास गरिएको छ। रक्षाबन्धन वर्षको एक पटक यसै दिन बाँध्ने चलन रहेको छ। जनै भने वर्षभर धेरै पटक फेर्नुपर्छ। मातृपितृ श्राद्धमा, शवयात्राबाट फर्केपछि, जुठो शुद्ध भएपछि जनै फेर्ने चलन रहेको छ।

जनैमा ओमकार, अग्नि, सर्प, सोम, पितृ, प्रजापति, यम र **विश्वी देवको** बास हुन्छ भनिएको छ। जनैको **ग्रन्थीमा** ब्रह्मा, विष्णु र रुद्रको आह्वान गरिन्छ जसलाई जनैको शिखा भनिन्छ र यसलाई एघार **आवृत्ति**, रुद्राभिषेक मन्त्र र गायत्री मन्त्रले प्राण प्रतिष्ठा गरेर धारण गरिन्छ। यस प्राण प्रतिष्ठाको दिनलाई जनै पूर्णिमा भनिन्छ।

यसै दिन ऋषिहरूका नाममा तर्पण दिने हुँदा यस दिनलाई ऋषि तर्पणी पनि भनिन्छ। यस दिनलाई श्रवण स्नानको दिनको रूपमा पनि मानिन्छ। खोला, नदीनाला, कुवा, धारामा गएर स्नान गरेर गाईको गोबर, जौ, तिलद्वारा नुहाइधुवाइ गरी पूर्ण संस्कारित बनेर ऋषिका नाममा तर्पण दिने हुँदा यस दिनलाई ऋषि तर्पणी भनिएको हो।

श्रावण शुक्ल पूर्णिमाका दिन नौ थरीका गेडागुडीको परिकार क्वाँटी बनाएर खाने चलन पनि छ। क्वाँटी खानाले शरीरको गर्मी कम हुने र तागत मिल्ने विश्वास गरिन्छ। मास, मुँग, चना, केराउ, भटमास, बोडी, सिमी, गहत, राजमा एकै ठाउँमा भिजाई टुसा उमारेर तयार गरिएको क्वाँटी पकाएर खानु स्वादिष्ट र स्वास्थ्यको लागि राम्रो मानिन्छ।

यस दिनलाई रक्षाबन्धनको दिन पनि मानिन्छ। एक पौराणिक कथाअनुसार देवतालाई दबाउन दानवी शक्ति प्रबल बनी सङ्ग्राममा अघि सऱ्यो। लामो समयसम्म युद्ध गर्दा पनि देवताहरूको जीत हुन सकेन। अन्त्यमा देवगुरु वृहस्पतिले श्रावण शुक्ल पूर्णिमाको दिन बिहान सुरक्षाको लागि रक्षा **विधान** तयार पारे। त्यसरी तयार गरिएको रक्षा सूत्र इन्द्रादि सम्पूर्ण देवताको हातमा बाँध्न लगाएर वृहस्पतिले मन्त्र पढे। त्यही मन्त्रको बलको प्रभावले दानव राज बलि बाँधिए।

रक्षाबन्धन चाडलाई ब्रह्माजीका मुखबाट निस्किएका ऋषिहरूद्वारा पन्चतत्त्वलाई दिग्बन्धन गरिने दिन भनी शास्त्रले बताएको छ भने **ब्राह्मण** अवतारमा विष्णुद्वारा दैत्यराज बलिलाई वचनबद्ध गराई तीनै लोक दानका रूपमा खुस्काइएको घटनाको श्रुति पनि जोडिन्छ। त्यसैले यस दिन ब्राम्हणद्वारा मन्त्र पाठ गर्दै यजमानको नाडीमा रक्षाबन्धन बाँधिन्छ। अर्थात् रक्षाबन्धन बाँध्दै ब्राम्हणले यजमानलाई बलि राजाको दानशक्तिको स्मरण गराउने प्रचलन रहेको छ।

जनै पूर्णिमामा गोसाइँकुण्ड, पशुपतिलगायत नेपालका शिवालय, देवालय र अन्य स्थानमा ठूलो मेला लाग्ने प्रचलन रहेको छ। यस दिन खोला, नदीनाला, शिवालय, देवालयमा श्रावण स्नानको विधिद्वारा स्नान, दान, तर्पण सम्पूर्ण गर्नाले मुक्ति प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ।

जनै लगाउने मन्त्र:

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्‌सहजं पुरस्तात् । आयुष्यमग्रयं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं वलमस्तु तेज:।।

पुरानो जनै त्याग गर्ने मन्त्र: एतावद्दिनपर्यन्तं ब्रहामात्वं धारितं मया । जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखाम् ।।

पुरानो जनै त्याग गर्ने निर्णय: सूतके मृताके चैव गते मास चंतुष्टये । नव य ज्ञोपवोतानि ध्रित्व जीर्णानि संत्यजेत ।।

रक्षाबन्धन बाँध्ने बेला भनिने मन्त्र :येन बद्धो वलीराजा दानवेन्द्रो महावल: । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

डा. उत्तम उपाध्याय न्यौपानेको फेसबुक बाट साभार

प्रतिक्रिया दिनुहोस