• २०८१ माघ ८ गते मङ्गलवार

बाजुरामा मदिरा पिउनेलाई ‘मापसे कार्ड’, खुसी भए महिला

पढ्न लाग्ने समय : ३ मिनेट

असार ३०, बाजुरा जुना विकको घरमा कलह हुन छोडेको एक वर्ष बित्यो । दिन नबिराई घरमा कलह हुन्थ्यो । खेतबारीको काम सकिएपछि जुना घर लाग्थिन्, श्रीमान स्थानीय पसलमा । जब गौमुल गाउँपालिकाले मदिरा निषेधको निर्णय गर्यो, त्यो मितिदेखि न त घरमा कलह भएको छ, न त पैसा नै खर्च ।

विकको परिवारमा मात्र होइन, गौमुल–४ डाँडाबाडाको गाउँको सिंगो बस्ती नै शान्त छ । गाउँमा मदिरा नगएको चार महिना बढी भएको वडाध्यक्ष वीरेन्द्र रोकाया बताउँछन् । मदिरा बन्द गरिएकोमा गाउँलेहरू धेरै खुसी छन् । खुसी हुनेमा पनि महिला, बालबालिका र बृद्धबृद्धाको संख्या बढी छ ।

मदिरा पिएर हल्ला गर्ने, आपसमा गाली बेइज्जती गर्ने काम पनि बन्द भएको छ । गाउँमा मदिरा पिउनेको संख्या नै भेटिन छोडेको स्थानीय शारदा विकले बताइन् ।

उनी सोही गाउँपालिका वडा नं. ५ कोट बस्तीकी हुन् । कोट गौमुलकै बढी मदिरा बिक्री वितरण हुने स्थान हो । गाउँका स्थानीय पसलमा पनि मदिरा बिक्री वितरणमा पूर्ण बन्द गरिएको स्थानीय उज्ज्वल रोकायाले बताए ।

आफूलाई खान पाए पुग्छ भन्ने मान्यता राख्ने पुरुष यतिबेला गाउँपालिकाको निर्णयको स्वागत गरी बसेको अवस्था छ। ‘पैसा माग्ने, घरको समस्या नबुझ्ने गर्थे, घरमा मदिराकै कारण भनाभन भइरहन्थ्यो, गाउँपालिकाले सही निर्णय गरिदियो,’ स्थानीय जुना विकले भनिन् ।

बढ्दो मदिरा सेवनले गाउँमा झैझगडा बढेको र आपसी द्वन्द्व सिर्जना हुने अवस्था आउन नदिन मदिरा व्यवस्थित गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।

निर्णयको सफल कार्यान्वन गर्नुपर्नेमा जोड दिन गाउँ–गाउँमा कार्यक्रम गर्ने गरिएको महिला अधिकार मञ्चका अध्यक्ष निरुता चदाँराले बताइन् । उसो त मदिरा व्यवस्थापन गर्ने गरिएको निर्णयको छ महिनाको अवधिमा आपसी विवाद र झगडाका घटनाहरू पनि कम भएको गाउँपालिका उपाध्यक्ष सीता रोकायाले बताइन् ।

गौमुल गाउँपालिकामा छ वटा वडा छन् । सबै वडाका अध्यक्षलाई मदिरा सेवन गर्नेलाई मदिरा सेवन कार्ड खरिद गरेर मात्र खान पाउने र आफू खुसी गाउँपालिकाको निर्णय बेगर मदिरा सेवन गरे, कानुनी कारबाही गर्ने निर्णय गरिएको न्यायिक समिति अध्यक्षसमेत रहेकी उपाध्यक्ष सीता रोकायाले बताइन् ।

न्यायिक समितिमा मदिराकै कारण झगडा भएको भन्ने उजुरी पनि छ महिनाको अवधिमा नआएको पाइएको छ । ‘गाउँपालिकाकाले मदिरा व्यवस्थापन गर्नुअघि फोनमै भए पनि गाली गरेको, कुटपिट गरेका गुनासो नियमित आउने गरेका थिए, पछिल्लो छ महिनाको अवधिमा सुन्नमा आएको छैन,’ थापाले भनिन् ।

गाउँमा उत्पादन गरिने घरेलु मदिरा पूर्ण रुपमा प्रतिबन्द गरिएको छ । युवामा बढ्दो दुव्र्यसनी र पारिवारिक रुपमा हुने आर्थिक नोक्सानीलाई ध्यानमा राखेर त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाले पनि मदिरा पूर्ण रुपमा बन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस