• २०८० असोज ४ गते बिहिवार

त्रिदेशीय सडकखण्डमा ५२ करोड बजेट, महावुको अवस्था फेरिएला

पढ्न लाग्ने समय : ३ मिनेट

जेठ ३१, दैलेख । कर्णाली राजमार्ग सञ्चालन भएको लामो समय भैसक्दा पनि राम्रोसँग स्तरोन्नति भने हुन सकिरहेको छैन । सुर्खेतदेखि जुम्लासम्मको यो सडकखण्ड मृत्यु मार्गको नामलेसमेत परिचित छ । भौगोलिक रुपमा विकट क्षेत्र कर्णालीमा निर्माण भएको यो सडक अत्यन्तै जोखिमपूर्ण छ ।

तर अब उक्त सडकभन्दा ७९ किलोमिटर छोटो पर्ने देखिन्छ, भारतको रुपैडिया नाका हुँदै कर्णाली प्रदेश राजधानी सुर्खेत, दैलेख सदरमुकाम, महावु हुँदै जुम्लादेखि चीनको सिमाना नाम्चे नाड्ला जोड्ने रणनीतिक सडक गत आर्थिक वर्षमा सरकारले उक्त सडकलाई प्राथमिकतामा राखेको भएपनि रू १० करोड मात्र बजेट विनियोजन भएको थियो । त्यो रकम नाम्चे सिमानामै खर्च गरिएको थियो ।

उक्त सडक निर्माणका लागि संघीय सरकारको आर्थिक वर्ष ०७६०७७ मा रू. ५२ करोड रकम विनियोजन भएको छ । दैलेखबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्माले उक्त खण्डमा हालसम्मकै ठूलो रकम विनियोजन भएको बताए । दैलेखको भविष्य उज्वल पार्न उक्त सडकले महत्वपूर्ण भुमिका खेल्ने देखिएको छ ।‘विगतका दिन कर्णाली राजमार्ग नहुँदा तोडिएको दैलेख कालिकोट र जुम्लाको मित्रता उक्त सडक सञ्जालले पुनः जोड्ने छ,’सांसद शर्माले  भने।

दैलेख सदरमुकामदेखि महावुसम्म कच्चि सडक सञ्चालन भएको भएपनि महावुदेखि गाल्जेसम्मको सडकको ट्रयाक खोल्नुपर्ने दैलेखवासीको माग थियो । सांसद शर्माले यो वर्ष रकमको राम्रो सदुपयोग हुने बताए । उक्त सडकको ट्रयाक खोल्न सकेमात्रै कालिकोट र जुम्लाको आधा खण्डको व्यापार व्यवसाय दैलेख सदरमुकामसँग जोडिने देखिन्छ । कर्णाली प्रदेशको त्रिदेशीय व्यापार बढ्नुका साथै, आयातमा प्रतिस्थापन भई निर्यात बढ्ने, उद्योग स्थापना हुने, आय आर्जनका क्रियाकलापमा वृद्धि हुने र विशेष गरेर दैलेखको धार्मिक, पुरातात्विक र ऐतिहासिक महत्वलाई यो सडकले जोड दिने भएकोले सडक निर्माणको काम छिटो गराउन दैलेखवासीले सरकारसँग माग गरेका छन् । सुर्खेत दैलेखदेखि रारा जाने पर्यटकले एकै दिनमा राराको अवलोकन गरेर फर्किन सक्छन् । दैलेखको नौमुले, नारायण नगरपालिका हुँदै महावु गाउँपालिकाको महावुको बिच भाग हुँदै सडकले उत्तर तर्फको मोहोडामा प्रवेश गर्ने देखिन्छ ।

महावुको अवस्था फेरिएला

समुन्द्री सहतदेखि ४ हजार २ सय मिटर उचाईमा रेहेको दैलेखको प्रसिद्ध ठाउँ हो, महावु धाम । महावु गाउँपालिकाको अग्लो चुचुरोमा अवस्थित महावु सुन्दर र आकर्षक ठाउँमात्र नभई धार्मिक हिसाबले उत्तिकै महत्वपूर्ण मानिन्छ । महावुदेखि तराईका बर्दिया, कैलाली र बाँकेका सुन्दर फाँटको अवलोकन सजिलै गर्न सकिन्छ । पाटनका बीच–बीचमा साना–साना ताल, नजिकै केही गाईगोठ, वरपर चौरमा भेडाबाख्रा चर्नाले महावुको महिमा बेग्लै छ ।

महावुदेखि कालिकोटतर्फ देखिएको त्रिशुलसहितको सुन्दर दृश्य । तस्वीर स् पंखबहादुर शाहीचारैतिर अग्ला र अध्याँरा लेकहरू, नजिकैको सुन्दर पाटनले महावु क्षेत्र निकै रमणीय छ । बीचमा रहेको विशाल ढुंगा र त्यसमाथि पूजा आराधना गर्नको लागि शिवलिंगको मूर्ति समेत स्थापना गरिएको छ । तर यति रमणीय र आनन्ददायक ठाउँमा पुग्न हालसम्म कुनै सडक र बस्ने आश्रमको व्यवस्था नहुँदा पर्यटकले सास्ती भोग्नुपरेको अवलोकनमा गएका गणेश मल्लले बताए ।

कर्णाली प्रदेशकै मुख्य पर्यटकीय स्थल भएपनि यसको राम्रोसँग प्रचार–प्रसार हुन सकिरहेको छैन । कालिकोटको महावै र दैलेखको महावुको बीचमा रहेको महावु धाममा राज्यको आँखा त्यति पर्न सकिरहेको छैन । अब बन्ने नयाँ रणनीतिक महत्वको सडकले महावुको अवस्था फेरिन सहयोग पुग्ने सांसद शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस