- सागर थापा
असार २९, दाङ्ग । पटक पटक सडक डिभिजन कार्यालय दाङ्गसँग बुझ्दा पानी पर्न बन्द भए पछी केही दिनमा सडक मर्मतको काम हुन्छ भन्ने आश्वासन दिए । तरपनि सडक मर्मतको काम अहिलेसम्म पनि हुन सकेको छैन् । सडक मर्मत नहुदा लमही देखि नर्ती सम्मको सडकमा ठुला ठुला खाडल बन्दै गएको छ ।
जसका कारण दैनिक जसो सानो ठुलो दुर्घटना हुने गरेको स्थानीयले बताउने गरेका छन् । उक्त सडकमा हजारौ साना ठुला गाडीहरु ओहोरदोहोर गर्ने गर्दछन् । सडकमा ठूला–ठुला खाडल पर्दा समेत सम्बन्धित निकायले मर्मतका लागि चासो देखाएको छैन ।
सडक मर्मतसंभारको जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय दाङले ध्यान नदिएको स्थानीय बासी राम कुमार चौधरीले बताए । सम्बन्धित निकायले कानमा तेल हालेर बसेका कारण राजमार्ग दिनदिनै असुरक्षित बन्दै गएको चोधरीले बताए । सो खाल्डो समयमा नपुर्ने हो भने त्यसले ठुलो दुर्घटना निम्त्याउने बस चालक शंकर भुवन सिंह रानाले बताए ।
खाल्डो राजमार्गको बिच बिच तथा छेउछाउमा समेत रहेको कारण त्यसले दुर्घटना निम्त्याउने र धेरै गाडी चल्ने राजमार्गमा खाल्डाखुल्डी राख्नै हुन्न,सम्बन्धीत निकायले चाडै कालोपत्रे गरिदिनु पर्ने कार चालक रानाले बताए। राजमार्गमा तीब्र गतिमा गुडेको सवारीसाधानले नजिकै आएपछि मात्रै खाल्डो देख्ने हुँदा गाडी दुर्घटना हुने गरेको चालकहरु बताउछन् । एम्बुलेन्स र विरामीलाई झनै दुख हुन्छ । खासगरी राती यात्रा गर्ने सवारी चालकहरुलाई त्यसले निकै समस्या पारेको छ । यता यस विषयमा पुन सडक डिभिजन कार्यालय दाङमा बुझदा कार्यालय प्रमुख जितेन्द्र चौधरीले वर्षातका कारण काम रोकिएको बताएका छन् सडक कालोपत्रेका लागि आवश्यक माल मेट्रियल खसाली सकेको बताउदै मौसममा सुधार आउना साथ काम हुने बताएका छन् । पुर्व धानखोला देखि पश्चिम शिवखोला सम्मको कुल १ करोड ४१ लाख ७२ हजार लागत लाग्ने भए पनि सिसहनियाँ देखि लमही सम्मको सडक मर्मतको जिम्मा पाएको शान्ति निमार्ण सेवाले ९२ लाख ३० हजारको ठेक्का लिएको छ ।
जसले सडकको अवस्था हेरेर मर्मत तथा कालोपत्रेको काम गर्ने छ भने सिसहनियाँ देखि धानखोला सम्मको सडक पुरै कालोपत्रे गर्ने जिम्मेवारी पाएको महेश निमार्ण सेवाले ५ करोड ५२ लाख १९ हजारको ठेक्कामा काम जारी राखेको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर लिला भण्डारीले जानकारी दिएका छन । यता जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले समयमा काम नगर्ने ठेक्दारलाई कालो सुचिमा राखेर तत्काल कार्वाही अघि बढाउने बताएको छन ।