बैशाख ३१, काठमाडौं । सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यो ठाउ काठमाडौंबाट करबि १ सय ५० किलोमिटर पूर्वमा रहेको छ। ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । बनेपा देखी बर्दिवास सम्म बीपी राजमार्ग निर्माण तथा त्यसमा यातायात सञ्चालन हुन थालेका कारण केहीअघिसम्म दुर्गम रहेको सिन्धुलीगढी सुगम भएको छ ।
सिन्धुलीगढी नेपाल-अंग्रेज युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरएिका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्मलाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । वि स १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बडहाकिम र सेना बस्न १४ ढोका ५६ झयाल टिनको छाना र सिमेन्ट अनि इट्टाको प्रयोग गरि २ तले दरबार बनाइएको थियो । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ । यो दरबार हेरेपछि ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति न राम्रो दरबार’ गीतको सम्झना आउँछ । तर संरक्षणको अभावका कारण ऐतिहासिक धरोहरकोरुपमा रहेको सिन्धुलीगढी ओझेलमा पर्दै गएको छ ।
सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनैति, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थान हो । यस स्थानको अवस्थिति जिल्लामा करिव १०५ किलोमिटर तन्काईमा रहेको महाभारत पर्वतको झण्डै मध्यमागमा करीव ५९ किलोमिटरको विन्दुमा रहेको छ ।
यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट बीपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करीव २० किलोमिटरको दुरीमा रहेकोछ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रूपमा परिचित डोयहरूको काठमाडौं आक्रमण अर्थात विसं १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राननैतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्व बोकेको छ ।