बैशाख ३१, पर्सा । पर्सा (साविक जिल्ला बारा), नकटुवा गा.वि.स. वडा नं.२ कि.न. ५६ को ज.वि. ०-१०-० , वडा नं. ५ कि.नं. ११२ को ज.वि.०९-१० र कि.नं.२१३ को ज.वि. ०-५-५ जग्गामा भूमिसुधार कार्यालय, पर्साका कर्मचारीको मिलोमतोमा मोहियानी हकको नक्कली लगत खडा गरी जग्गा हिनामीना गरेका छन ।
मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँड निर्णय गरेको समेतका विषयमा आवश्यक कारवाही गरिपाँउ भन्ने उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन भूमिसुधार कार्यालय, पर्साका भूमिसुधार अधिकारी गमबहादुर वि.क र तामेलदार प्राणनाथ कसजुले अनुसूची सच्याउने तथा थपघट गर्ने कार्य गरी अनियमितता गरेका हुन । नक्कली मोही बनी बाँडफाँडको लागि निवेदन दिने नगेश्वर राउत कुर्मीले भूमिसुधार कार्यालय, पर्साका कर्मचारीहरूलाई प्रलोभनमा पारी मोहीका अभिलेखहरूमा थपघट तथा सच्याउने कार्य गरेका हुन ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार गम बहादुर वि.क र प्राणनाथ कसजुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सजाय हुन साथै नगेश्वर राउत कुर्मीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।