नववर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना ! हर पाइलामा सफलताले पाइला चुमी रहोस् । नयाँ बर्षमा उषाको नौलो लाली छर्ने जमर्को गर्दै यही सन्देश द्वारा नै शुभकामना शुभेच्छाहरू यहांहरु सामू बाड्दै नया यात्रामा पाइलाहरुको फड्को मार्दैछौं ।
हरेक बर्ष पुरानो क्यालेन्डर च्यातेर नयाँ पाना पल्टाँउदा नयाँ पानाहरु संगै नयाँ अवसर र आशाहरु पनि देखा पर्दछन् । यी बर्षहरु भनेका किताबका नयाँ अध्यायहरु झैं हुन् जसको आँउदा अध्यायहरु पनि पढ्न अनि पल्टाउन बाँकी उत्साहजनक पानाहरु जस्ता हुन् । लेखिन बाँकी कापीका सादा पानाहरु जस्ता जहाँ दिनहरुले अनि महिनाहरुले बाँच्दै जाँदा अनि हाँस्दै रुदै जाँदा अनुभवका अक्षरहरु भर्दै जान्छन् ।
अर्कोतर्फ गत वर्ष मा हामीले मारेको फन्को पनि उत्तिकै उल्लेख्य छ । गएका वर्षहरुका राम्रा नराम्रा अनुभव, याद अनि कदमहरु संगाल्दै स्वागत छ यो वर्षमा ।
विद्यालय जीवनमा फिल्मी हिरो अनि हिरोईनका तस्विरमा लेखिएका शायरी तथा शुभकामना सन्देश प्रेषण गरिने कार्डहरु देखि हिजोआज फेसबुक अनि ट्वीटरका भित्ताहरुमा लेखिने शुभेच्छा सम्म, नयाँ वर्षमा आमाले पकाउनुभएको सेलरोटी र काक्राको अचार देखि रेष्टुरेन्टका विविध परीकारहरु अथवा गाउँ, शहरतिर नयाँ वर्षमा आयोजन गरीने मेला होस् या शहर, विदेश अनि खाडीका मरुभूमीमा घर फर्कन क्यालेण्डरमा रातो धर्का कोर्दै बस्नुभएका औंलाहरुसम्म यो नयाँ वर्षको उत्साह अनि उत्सर्गको कमी नरहोस्… तराईको न्यानो रापले हिमाल गलेर बनेको कञ्चन पानी जनजनमा मिठो मुस्कान बनेर शितलता प्रदान गरोस्, राजनीतले गालेको नेपालीमन राजनीतिक, सामाजिक अनि नवयूगको फरक चेतले उर्जावान बनेर अब देश माया, प्रेम, सद्भाव, समभाव अनि विश्वासले अघि बढोस्, स्वागत छ यो नयाँ वर्षलाई ।
नयाँ बर्ष ले सबैमा ख़ुशी र उमंग ल्यायोस उन्नति र प्रगतिको बाटोमा लम्किराहने प्रेरणा मिलीरहोस, सबैलाई समानताको धरातल र हक़ अधिकार सहित स्वतन्त्र भई बाँच्ने धरातल मिलोस, अनि हामी सबैलाई रंगीन इन्द्रेनी छरिएको बिशाल आकाश मिलोस जहाँ सपनाहरु सधै जन्मिरहून खेलिरहून,र साथै सबैमा भाईचाराको संचार भई एकतामा एकै बगैंचाभित्र रंगिबिरंगी फुलहरुको बास्ना छर्दै शान्तिसंग बाँच्न सकौं ,रमाउन सकौं, मिलीजुली खुशियाली मनाउन सकौं, नया बर्ष २०७६ सालको यही नै हाम्रो हार्दिक मंगलमय शुभकामना ।
शुभकामनाका खातहरु अनि शुभेच्छाका मालाहरु चढाउन चाहन्छ khabar24nepal.com, नव बर्ष २०७६ को । देश बिदेश भरी छरिएर रहनु हुने संपूर्ण नेपाली दाजू भाई दीदीबहिनी हरुमा नयां साल २०७६ को सफलताको कामना ।
खवर24नेपाल डटकम परिवार