फाल्गुन २, काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन सबन्धित पक्षसँग घूस लिएको खुलासा भएको छ । पटक–पटक गरी विभिन्न व्यक्तिमार्फत ७८ लाख रुपैयाँ घूस दिएर पनि पाठकले काम नगरिदिएपछि घूस दिने समूहले उनको भिडियोसमेत खिचेको खुलासा भएको छ ।
एक वर्षअघि नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटमा भएको अनियमितताबारे अख्तियारमा उजुरी परेको थियो। उक्त उजुरीमाथि छानबिन चलिरहेका बेला सम्बद्ध एक समूहले आफूमाथिको छानबिन रोक्न आयुक्त पाठकमार्फत अख्तियारमा सम्पर्क गर्यो।
त्यो समूहका व्यक्तिहरूले राजधानीको एक निजी कलेजका सञ्चालक मार्फत आयुक्त पाठकसग सम्पर्क गरे। पाठकको सुझावअनुसार उक्त समूहले राजनारायणका भाइ शुभनारायण पाठकलाई पहिलो पटक भेटे र छानबिन रोक्न १५ लाख रुपैयाँ बुझाए।
शुभनारायण हाल पूर्वाञ्चल विश्वविद्यालयका डिन छन्। भाइमार्फत रकम बुझेका आयुक्त पाठकले इन्जिनियरिङ कलेजका सञ्चालकविरुद्ध अख्तियारमा परेको उजुरी तामेलीमा राखिदिने वचन दिए। त्यसपछि पनि पाठकलाई दुई किस्तामा रकम बुझाइयो। एक पटकको रकम काठमाडौंको कमलपोखरी छेउमा गाडीमै दिइएको थियो। सम्बन्धित पक्षले मिठाईको प्याकेटमा रकम राखेर आयुक्त पाठककै हातमा बुझाएको थियो।
‘घूस बुझेर पनि पाठकले समयमा काम गरेनन्। आजभोलि आजभोलि भन्दै झुलाइरहे। पैसा बुझाएको महिनौ भइसक्दा पनि अख्तियारले इन्जिनियरिङ कलेज छानबिन प्रकरणको फाइल तामेलीमा राखेन,’ स्रोतले भन्यो, ‘उक्त समूहले ताकेता बढाउँदै लग्यो। आयुक्त पाठकले उल्टै थप रकम मागे। नेपाल इन्जिनियरिङ कलेजको एउटा सञ्चालक समूहले पैसा दिएको महिनौं भइसक्दा पनि काम नभएको भनेर उक्त समूहसँग रकम फिर्ता गर्न दबाब दिन थाल्यो। तब उक्त समूह अप्ठ्यारोमा पर्यो।’
बञ्जारा भन्छन्, ‘काम नभएपछि रकम फिर्ता माग्नुभन्दा अर्को बाटो हामीसँग थिएन। हामीले पैसा फिर्ता गर्नुस् भन्यांै। त्यसपछि त पाठकले उल्टै हामीलाई गाली गर्न थाले। पैसा फिर्ता गर्नैपर्ने दबाब परेपछि मैले आफ्नो घर बैंकमा राखेर त्यो पैसा फिर्ता गरेँ।’ आफ्नो पैसा फसेपछि बञ्जारा र उनको समूहमा छटपटी बढ्यो। उनीहरूले असनमा कपडाको व्यापार गर्ने आफ्ना पुराना साथी लाई गुहारे। उनले आयुक्त पाठकलाई भेटेर रकम फिर्ता गर्न ताकेता थाले।
१४ माघ २०७४ मा अमात्य पहिलो पटक अख्तियारको नक्सालस्थित कार्यालयमै गए। पाठकको कार्यकक्षमै पुगेर रकम फिर्ता मागे। त्यसपछि उनले पटक–पटक पाठकलाई घरमा र उनको कार्यकक्षमा भेटे। सजिलै रकम फिर्ता नहुने ठानेर ती भेटघाटमा भएको कुराकानीको गोप्य रूपमा भिडियोसमेत खिचे। पटक–पटक खिचेको ६ घण्टाभन्दा लामो भिडियोको अन्तिम दृश्यमा पाठकले उनसँग हात जोडेर माफी मागेका छन्।
भिडियोमा पाठकले आफूले एक पटक ४० र अर्को पटक ३८ लाख, अनि भाइ शुभनारायणले १५ लाख रुपैयाँ लिएको स्विकारेका छन्। यसबारे प्रतिक्रिया लिन खोज्दा शुभनारायणले कान्तिपुरसित कुराकानी गर्न मानेनन्। सबै विषयवस्तु थाहा पाएपछि उनले भने, ‘म अहिले एउटा कार्यक्रममा छु, सुनिएन। पछि कुरा गरौंला।’
श्रोत कान्तिपुर