मंसिर, २७ चितवन । मुग्लिन–नारायणगढ सडक आजदेखि दुई सातासम्म दिउँसो बन्द गरिने भएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडक आयोजना कार्यालयको मागअनुसार पहिरो रोकथाम गर्ने कामका लागि रोक लगाएको हो । बिहान ११ देखि दिउँसो ३ बजेसम्म मुग्लिनबाट नारायणगढतर्फ जाने यात्रुबाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक गाडी लेवाटार र आबुखैरहनीमा रोक्नुपर्नेछ ।
यसैगरी मुग्लिनतर्फ आउने यात्रुबाहक सवारीसाधन १५ किलो र मालबाहक गाडी दासढुंगामा रोक्नुपर्नेछ । एम्बुलेन्स, शव वहनलगायत अत्यावश्यक सवारीसाधन भने सुरक्षा निकायको समन्वयमा आवतजावत गर्न दिइने छ ।