असोज २६ ,वीरगञ्ज । पर्सा प्रहरीले महिलाको शंकास्पद मृत्यु भएको घटनामा छानबिनका लागि परिवारका तीन जना सदस्यलाई नियन्त्रणमा लिएको छ ।
पकाहामैनपुर गाउँपालिका-४ धोविया टोलका नसुरद्दीन मीयाँ, उनको भाइ विल्टु मियाँ र भाउजु तुना खातुन पक्राउ परेका हुन् । इलाका प्रहरी कायालय पोखरीयाले नियन्त्रणमा लिएका तीनै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
असोज १९ गते नसुरुद्धिनको श्रीमती २४ वर्षीय सोरियम खातुनको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट मुस्लिम परम्परा अनुसार उनको दाह संस्कार गरिएको थियो ।
परिवारका सदस्यले सोरियमले झुण्डिएर आत्महत्या गरेको दावी गरेका छन् । तर, माइती पक्षले शव पनि राम्रोसँग हेर्न नदिइ अन्त्येष्टि गरेकोले आत्महया नभइ हत्या भएको आशंका गरेका छन् ।
झुण्डिएर आत्महत्या गरेको भनिए पनि प्रहरीलाई खबरै नगरी अन्त्येष्टि गरेकोले प्रहरीले पनि मृत्युलाई शंकास्पद मानेको छ । शनिबार सोरियमको शव उत्खनन् गरी नारायणी अस्पतालका डाक्टर अजित साहले परीक्षण गरेका छन् ।
शव सडिसकेकोले वीरगञ्ज ल्याउन नसक्ने अवस्थामा रहेकोले गाडिएकै ठाउँमा परीक्षण गरिएको थियो । माइती पक्षले सोरियमको हत्या भएको दावीसहित असोज २४ गते इलाका प्रहरी कार्यालाय पोखरीयामा उजुरी गरेपछि परिवारका तीन जना सदस्यलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।
‘परिवारका सदस्यले सोरियमले पासो लगाएर आत्महत्या गरेको दावी गरेका छन्, तर उनीहरुले प्रहरीलाई खबरै नगरी दाहसंस्कार गरे ।’ उनले भने, ‘माइती पक्षको उजुरी आएपछि हामीले अनुसन्धान शुरु गरेका छौं । नारायणी अस्पतालबाट चिकित्सक लगेर शव गाडेकै ठाउँमा पोष्टमार्टम गराएका छौं ।’
पोष्टमार्टम रिपोर्ट आएपछि महिलाको हत्या भएको हो वा आत्महत्या छुट्टनिे प्रहरी निरीक्षक सिंहको भनाइ छ ।