- धर्म सुनार बाजुरा
भदौ २७ बाजुरा । बाजुरामा स्थानिय पर्व अनन्ते मेला शुक्रबार बाट विधिवत रुपमा सूरु भएको छ । तीन दिनसम्म लाग्ने यस मेलामा यहाँका स्थानीयहरुले रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गरेका छन् । यो पर्व मनाएपछि आफूले सोचेका मनोकांक्षा पूरा हुने स्थानीयहरुको जन विश्वास रहदै आएको छ ।
यस पर्वलाई महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रुपमा यो पर्व हरेक वर्ष मनाउदै आएको स्थानीय धनसिंगे रावलले बताएका छन् । अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनामा मनाउने गरिन्छ । मेला अवधीभर लाखेनाच, माँगल, पाण्डवहरुको युद्ध कौशल, लडाईको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गर्ने गरिन्छ । स्थानीय लोक सँस्कृति र जिल्लाको पहिचान स्वरुप मनाइने अनन्ते मेला जिल्लाका मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्विस लगाएत एक दर्जन बढी क्षेत्र धुमधामका साथ मनाइने गरिन्छ । देउडा साँस्कृतिको जगेर्ना, आफन्तसँगको भेटघाट र मित्रताको सूरुवातको संकेतका रुपमा पनि यस पर्वलाई मनाउने गरिएको स्थानीय बासीले बताउने गरेका छन् ।
मेलाको अवसर पारेर यतिखेर माईतमा गएकि चेली, लेक खर्क बेसीबाट आफन्त, गोठाला, विद्यार्थी र कर्मचारी एकै ठाँउमा जम्मा हुने गर्दछन् ।
मेलामा मेला हेर्न आउनेहरुका लागि होटल, पसलहरु समेत राख्ने गरिन्छ । मेला अवधीभर कौरव पाण्डवको युद्ध कला बाहेक, दिनरात देउडा, दोहोरी लगाउने चलन छ । केटा र केटी एक आसपमा माया प्रेमसँगै महाभारतको कथाबस्तुलाई कलात्मक पाराबाट व्यक्त गर्ने गर्दछन् ।
पुरुषको पर्वका रुपमा चिनिने अनन्ते मेलामा पुरुषहरु गोल घेरामा लाम लागि हातमा काँसा घातुबाट निर्मित मीजुरा बजाएर दुई पट्टिले पालै पालो गीत, गाथा गाएर रमाइलो गर्ने गर्दछन् । मेला अवधी भर स्थानीयले कुले देवता कैलाश र मष्टाको पूजा आजा गर्ने र पारिवारीक खुसी, दिर्घायु र सुख शान्तिका लागि कामना गर्ने गर्दछन् । यो अवधिमा ग्रह दशाका लागि भन्दै दर्जनौ बोका बलि दिने गरेका छन् ।