साउन २८, महोत्तरी । भँगाहा नगरपालिका वडा नं.- ८ का वडा अध्यक्ष मो.रफिक आलम समेत ३ जनालाई घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिइएको छ ।
वडा अध्यक्ष मो.रफिक आलमले सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराई दिए बापत घुस माग गरेका थिए । उत्त घुस असुल गराउने वडाका सदस्य कारी साह जमानी जिम्मा बसी वडा सदस्यको छोरा मुकेश साहलाई घुस रिसवत लिन पठाउँदैछ भन्ने प्राप्त उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले मुकेश साहलाई सेवाग्राहीसँग रू.१,६०,०००।–(एक लाख साठी हजार) घुस/रिसवत लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो ।
उक्त घुसवापतको रकम सहित जनकपुर उप-महानगरपालिका वडा नं.-९ पिडारीचोक स्थित राष्ट्रिय वाणिज्य बैंक प्रवेशद्वारबाट रङ्गेहात नियन्त्रणमा लिई सोधपुछ गरी भँगाहा नगरपालिका वडा नं.-२ स्थित सितापुर चोकबाट वडा अध्यक्ष मो.रफिक आलम र वडा सदस्य कारी साहलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।