• २०८१ फाल्गुन २ गते शुक्रवार

कलैया उपमहानगरपालिकाका इन्जिनियरद्वय विरुद्ध विशेष अदालतमा मुद्दा

पढ्न लाग्ने समय : १ मिनेट

 साउन २८, बारा । कलैया उपमहानगरपालिकाका इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादव विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

बारा, कलैया उपमहानगरपालिका वडा नं.२१ स्थित तपी मा.वि.भोडहादेखि मदिलवाससम्म सडक ढलान गर्ने काममा उपभोक्ता समितिले लागत इष्टिमेटअनुसारको नापीमा निर्माण कार्य नगरी खिया लागेको कमसल फलामको डण्डी र न्यून गुणस्तरको सिमेन्ट प्रयोग गरी रकम हिनामिना गरेको भन्ने समेतको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा कलैया उपमहानगरपालिकाका इन्जिनियर किशोर यादवले गैरकानूनी लाभ वा हानि पुर्‌याउने बदनियतले वास्तविक भए गरेको भन्दा बढी काम देखाई नापी किताव तयार गरेको र सोही उपमहानगरपालिकाका इन्जिनियर माधव प्रसाद यादवले उक्त कार्यलाई समर्थन जनाई सिफारिस दिएका हुन ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनिहरुको यस्तो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निजहरू इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादवलाई बिगो रू.५,७१,२६९।५०( पाँच लाख एकहत्तर हजार दुई सय उनान्सत्तरी रूपैयाँ पचास पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस