साउन २८, काठमाडौं । देशका मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली हुने गरेको तथ्य सार्वजनिक भएको छ । भन्सार विभागले तोकेको लक्ष्यअनुसार मातहतका कार्यालयले राजस्व नउठाउँदा राजस्व छली भएको विज्ञहरूले बताएका छन् । राजस्व छली हुने क्रम बढ्दा अधिकांश भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेका छैनन् ।
विज्ञहरूका अनुसार भन्सारका कर्मचारी र व्यापारीहरूको मिलेमतोमा नै राजस्व छली हुँदै आएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार मुलुकको सबैभन्दा ठूलो भन्सार नाका वीरगन्जबाट ८९ अर्ब ८० करोड ५७ लाख १३ हजार राजस्व उठेको छ । जब कि सो भन्सार नाकाबाट राजस्व उठाउने लक्ष्य भने ९६ अर्ब ७६ करोड २५ लाख ४६ हजार राखिएको थियो । सो नाकाबाट लक्ष्यभन्दा ७ अर्ब बढी राजस्व उठ्न नसकेको पाइएको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयबाट ५८ अर्ब ६३ करोड ५२ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा ५० अर्ब ९४ करोड ८२ लाख मात्रै राजस्व उठेको जनाएको छ ।
यसैगरी, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय, रसुवा भन्सार कार्यालयलगायतबाट पनि लक्ष्यभन्दा कम राजस्व उठेको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । लक्ष्यभन्दा निकै कम राजस्व उठेकाले ती नाकाबाट पनि राजस्व छली भएको सहजै अनुमान गर्न सकिन्छ । भन्सार स्रोतका अनुसार पशुपति नगर भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, सिराहा भन्सार कार्यालय, गौर भन्सार कार्यालय, कोइलावास भन्सार कार्यालयबाट समेत ठूलो मात्रामा राजस्व छली भइरहेको बताइएको छ ।
पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव खत्री भट्टराईले भन्सार विभागले दिएको लक्ष्यअनुरूप राजस्व उठाउन नसक्नुले राजस्व छली भएको पुष्टि गर्ने बताए । उनले २०७५/७६ को बजेट भाषणमा भन्सार छली नियन्त्रण गर्न सन्दर्भ मूल्य लागू गरे पनि भन्सार विभागका कर्मचारी र सुरक्षा निकायका कर्मचारीको असहयोगका कारण सो प्रावधान लागू हुन नसकेको बताए ।
राजस्व छली नियन्त्रण गर्ने प्रमुख निकाय भन्सार, सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच प्रभावकारी समन्वय हुन नसक्दा पनि भन्सार छली हुने क्रम बढेको विज्ञको दाबी छ । त्यस्तै, राजस्व छली गर्ने निकायकै मिलेमतोमा व्यापारीले ठूलो परिमाणमा राजस्व छली गर्ने गरेको स्रोतको दाबी छ । अर्थ मन्त्रालका एक उच्च अधिकारीका अनुसार भन्सार विभागका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती कमजोर भएका कारण राज्यले बर्सेनि अर्बौं राजस्व गुमाउँदै आएको छ । ‘भन्सार चोरी पैठारी रोक्न यी तीन निकायको समन्वयको आवश्यक छ तर अहिलेसम्म समन्वय नहुँदा चोरी नियन्त्रण हुन सकेको छैन,’ ती अधिकारीले राजधानीसँग भने ।
सुरक्षा निकायको सहयोग देखिएन
सुकदेव खत्री भट्टराई
पूर्वकार्यवाहक महालेखापरीक्षक२०७५/७६ सालको बजेट भाषणमा न्यून बीजकीकरण र भन्सार छली नियन्त्रण गर्न सन्दर्भ मूल्य लागू भएको थियो । तर, सुरक्षा निकाय र भन्सारकै कर्मचारीको कामको तालमेल नमिल्दा सो प्रावधान लागू भएन र भन्सार छली बढ्दै गयो ।
सिमानामा सुरक्षा कडा पर्नुपर्छ
रामेश्वर दंगाल
महानिर्देशक भन्सार विभागभन्सार नाकाबाट सामान आयात भएअनुसार राजस्व उठ्ने हो । गत आर्थिक वर्षमा त्यसअनुसार सामग्री आयात भएको छैन । भन्सार छलीबाट हुने चुहावट भन्सार एक्लैले रोक्न सक्दैन । त्यसमा प्रहरी र सशस्त्र प्रहरीको पनि भूमिका उत्तिकै हुन्छ ।
छुट्टै राजस्व प्रहरी आवश्यक छ
रामुप्रसाद डोटेल
उपमहालेखापरीक्षकभन्सार विभागले एउटा छुट्टै समूह बनाई अनुगमन गर्नुपर्छ । कुन प्रकृतिको सामान ल्याइएको भन्ने जाँच्ने र एक्सरे गरेर हेर्ने प्रणालीलाई व्यवस्थित गर्नुपर्छ । सन्दर्भ मूल्य सूचीलाई लागू गर्नुपर्छ । त्यसले न्यून बीजकीकरणलाई न्यूनीकरण गर्छ । त्यसका आधारमा भन्सारको दर कायम गर्नुपर्छ । त्यसका साथै विभिन्न स्रोतबाट मूल्य संकलन गर्नुपर्छ ।
त्यस्तै, महालेखापरीक्षकको कार्यालयका उपमहालेखापरीक्षक रामुप्रसाद डोटेलले अहिले परिचालित सशस्त्र प्रहरी कमान्डिङमा तालमेल नमिल्दा भन्सार छली हुने गरेको बताए । उनले त्यसको समाधान गर्न छुट्टै राजस्व प्रहरी गठन गर्नुपर्ने तर्क गरे ।
डोटेलका अनुसार खुला सिमानाका कारण भन्सारबाट छली हुने वस्तु प्रहरीलाई नियन्त्रण गर्न कठिन छ । चोरी नियन्त्रण गर्न प्रहरीको सक्रियता र समन्वय आवश्यक रहने उनको तर्क छ ।
भन्सारबाट राजस्व धेरै किसिमले छली हुने गरेको पाइएको छ । सम्बन्धित नाकाबाट नभएर अन्य नाकाबाट समेत चोरी पैठारी भइरहेका छन् । सामानको परिमाणमा फरक पार्ने, एउटा सामान ल्याउने तर अर्को देखाउने र न्यून बीजकीकरण गरी राजस्व छली हुने गरेको सरोकारवालाले बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले तयार पारेका हुन ।