• २०७९ भाद्र ३ गते शुक्रवार

आगलागीका कारण २ परिवारको बिचल्ली

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौ ३०,खोटाङ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा आगलागीबाट २ घरमा क्षति पुगेको छ । आगलागीमा ९ लाख ५० हजार बढीको क्षति भएको जनाइएको छ ।

ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घर जलेको हो । आइतबार भएको आगलागीमा सुवासको ६ लाख ८५ हजार र नरबहादुरको २ लाख ६९ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिए ।

आगलागीमा घर तथा घरमा रहेका धनमाल जलेर नष्ट भएपछि २ दलित परिवारको विचल्ली भएको छ ।

आगो नरबहादुरको घरदेखि शुरु भए पनि कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । अचानक लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

आगलागीपीडित दलित परिवार अहिले छिमेकीको आश्रयमा बसिरहेका छन् । उनीहरुलाई छिमेकीले खाना तथा बासको व्यवस्था मिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस