चैत ३०,दैलेख । पश्चिम दैलेख ठाटीकाँधका असिना पीडितलार्ई गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको तलव र पोषाकको रकम राहत स्वरुप दिने निर्णय गरेका छन् । गाउँपालिकाको चौथो गाउँसभाबाट उक्त निर्णय गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष धिरवहादुर शाहीले असिनापीडित कृषकहरुलाई राहतका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । गाउँपालिका पञ्जिकरण शाखा तथा वडा नं. १ का वडा सचिव पदम बहादुर बमले आफुले बर्षभरि पाउने पोषाक भत्ताको रु.१० हजार दिने जनाएका छन । । यस्तै वडा नं. ६ वडा सदस्य लोकवहादुर थापाले ५ महिनाको तलव राहत स्वरुप दिने बताए । गएको चैत २२ र २४ गते साँझ गएको हावाहुरी सँगै असिनापानीले घरको दैलोमा सजाउन नपाउँदै अन्नबाली नष्ट पारेको थियो ।
सरकारले हामीलाई राहतको व्यबस्था छिटो मिलाईदिँनु पर्र्याे ठाटीकाँध १ का असिना पिडित बमबहादुर शाहीले भने ।
चैते दशैँ र नयाँ बर्ष पिरैमा
असिनापिडितको लागि कर्णाली प्रदेश सरकारका मन्त्रीपरिषद बैठकले गएको मंगलबार राहतको व्यबस्था गर्ने निर्णय गरेको छ । १५ दिन भित्र पीडितहरुको लगत संकलन गरी स्थानीय विपत व्यवस्थापन समिति मार्फत कार्यविधि र मापदण्ड अनुसार रकम उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तै दैलेख क्षेत्र नंं.२ प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले संघमा राहतको लागि आवाज उठाउने बताएका छन् ।
‘राहतको लागि विभिन्न ठाउँमा पहल गर्ने भन्ने आवाज सुनिन्छ तर , हामी कहाँ राहत कहिले पुग्ने हो,’ असिनापीडित सुना बुढाले बताईन् । ‘यो बर्षको चैते दशैँ र नयाँ बर्ष पिरैमा छ,’ उनले भनिन् । ‘सरकारले दिने भनेको राहतको बाटो कहिले सम्म हेर्ने हो हामीलाई छिटो उपलब्ध होस’ खिन्न हुँदै उनले भनिन् ।
‘अधिकाँश युवा स्वदेश फर्किएनन ’
गहुँबाली लगाएर विदेश गएका अधिकाँश युवाहरु यो बर्ष चैते दशैँ मनाउन स्वदेश फर्किएका छैनन् । गाउँमा असिनाले अन्नबाली नष्ट गरेपछि थोरै पैँसा कमाउने हेतुले स्वदेश नफर्किएका हुन् । वैशाख, जेठ महिना अलि फुर्सिदको महिना भएकोले बर्षा यामको खेतीमा काम गर्दा चाहिने अन्नतपातको लागि खर्च जुटाउनलाई स्वदेश नफर्कीएको ठाटीकाँधका स्थानीय निरक बुढाले बताए । ‘कार्तिक र मंसिरमा लगाएको बालीनालि सिहार्न सँगै चैते दशैँ र नयाँ बर्षको पावन अवसरमा लाहुर झोला काँधमा बोकी फर्किने ईच्छा अधुरो भयो’ उनले भने ।