भदौ २६, काठमाडौं बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौंको सांस्कृतिक पर्व इन्द्रजात्राको व्यवस्थापन तथा सञ्चालन गर्न स्थायी कोष स्थापना गरिएको हो ।कोषमा तीनै तहका सरकारले योगदान गरेका छन् ।
५ करोड रुपैयाँमध्ये कोषमा संघीय सरकारले १ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ । यस्तै, प्रदेश सरकार ३ नं बाट १ करोड, गुठी संस्थानबाट ५० लाख रकम र सबैभन्दा धेरै काठमाडौं महागरपालिकाबाट २ करोड रुपैयाँ कोषमा जम्मा हुने भएको छ ।‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापनाको निर्णय मन्त्रिपरिषद्को भदौ २२ गतेको बैठकले गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस कोषमा जम्मा हुने ५ करोड रकमको व्याजबाट वर्षेनी जात्रा खर्च व्यवस्था गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
उनका अनुसार कोष संचालन तथा व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाका प्रमुखको अध्यक्षतामा एक समिति रहने भएको छ ।इन्द्रजात्राको संचालन सम्बन्धी कार्यविधि बनाउने तयारी सुरु भइसकेको संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बताए ।कार्यविधिमा महानगरका मेयरको संयोजकत्वमा सबै तहका सरकारका साथै इन्द्र जात्रा आयोजक समितिका समेत प्रतिनिधि रहने गरी एउटा समिति बनाइने बताइएको छ ।