• २०८१ असोज २६ गते शनिवार

इन्जिनियर र सब-इन्जिनियर दुबैलाई विशेष अदालतमा मुद्धा

पढ्न लाग्ने समय : २ मिनेट

साउन २७, सिराहा । गोलबजार नगरपालिका, सिरहाका इन्जिनियर जगदिश प्रसाद साह र सब-इन्जिनियर उमा श्रेष्ठ विरूद्ध विशेष अदालत काठमाडौमा आरोप-पत्र दायर गरिएको छ ।

गोलबजार नगरपालिका, सिरहाका सब-इन्जिनियर उमा श्रेष्ठले विद्यालयको शौचालय निर्माणको भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास, महोत्तरीबाट खटिई गएको टोलीले निज सब-इन्जिनियर उमा श्रेष्ठलाई सेवाग्राहीसँग रू.५०,०००।–(पचास हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा भेटिएका आधार, प्रमाण र कारणहरूबाट जिल्ला सिरहा, गोलबजार नगरपालिका स्थित विद्यालयको शौचालय निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि बिल भरपाई पेश गर्दा उक्त नगरपालिकाका इन्जिनियर जगदिश प्रसाद साहको निर्देशन, सल्लाह र सहमतिमा सव-इन्जिनियर उमा श्रेष्ठले सेवाग्राहीसँग रू. ५०,०००।–(पचास हजार) माग गरी घुस/ रिसवतबापत लिएको देखिन आएकोले निज सव-इन्जिनियर उमा श्रेष्ठ र इन्जिनियर जगदिश प्रसाद साहबीचको मिलेमतोमा इन्जिनियर उमा श्रेष्ठले सेवाग्राहीसँग घुस/ रिसवत लिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निजहरूलाई जनही बिगो रू.५०,०००।–(पचास हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस