• २०८० मङ्सिर १३ गते बुधवार

मलेसियासँगको टी-ट्वान्टी भोलि, हेड टु हेडमा को अघि ?

पढ्न लाग्ने समय : ३ मिनेट

असार २७, काठमाडौं । सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले मलेसियामा रहेको छ ।

मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले घरेलु टोलीसँग दुई खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्दैछ । र, नेपालले मलेसियासँग भोलि (शनिबार) पहिलो खेल खेल्दैछ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ७:४५ बजे सुरु हुनेछ ।  त्यसपछि नेपालले मलेसियासँग आइतबार अन्तिम तथा दोस्रो खेल खेल्नेछ । दुई खेलको सिरिजपछि नेपाली टोली मलेसियाबाटै सिंगापुर प्रस्थान गर्नेछन् ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ ।

मलेसिया र नेपाल : हेड टु हेड 

आईसीसीबाट एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय प्राप्त गरिसकेपछि नेपालले पहिलो पटक युएईविरुद्धको टी-ट्वान्टी सिरिज जितेको थियो।

माघमा भएको उक्त सिरिजपछि नेपालले पहिलो पटक मलेसियासँग खेल्न लागेको हो । नेपाल मलेसियाविरुद्धको सिरिज जित्दै आईसीसीको वरियतामा आफुलाई सुधार गर्न चाहन्छ ।

हालसम्म टी-ट्वान्टीमा नेपाल र मलेसियाबीच ४ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल हाबी रहेको छ । ४ खेलमा नेपालले ३ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।

सन् २००७ को कुवेतमा भएको एसीसी टी-ट्वान्टी कपमा नेपालले मलेसियासंग पहिलो पटक खेलेको थियो । उक्त खेलमा नेपालले २१ रनको जित निकालेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२१ रन बनाएको थियो । नेपालका बसन्त रेग्मीले ३३ तथा परेश लोहनीले ३१ रन बनाए । १२२ को लक्ष्य पछ्याएको मलेसिया १८ ओभर ५ बलमा १०० रनमा समेटिएको थियो । खेलका म्यान अफ द म्याच बसन्त रेग्मी घोषित भएका थिए ।

यस्तै दोस्रो भेट युएईमा सन् २००९ को एसीसी टी-ट्वान्टी कपमा भएको थियो । जुन खेल नेपालले ६ विकेटले हारेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनायो । नेपालका महबुब आलमले सर्वाधिक ३१ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २२ तथा परेश लोहनीले १९ र पारस खड्काले १० रनको योगदान गरे । ११२ रनको लक्ष्य पछ्याएको मलेसियाले १७ ओभर २ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

सन् २०१३ को एसीसी टी-ट्वान्टी कप नेपालले आयोजना गरेको थियो । किर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६३ बनायो । नेपालका पारस खड्काले सर्वाधिक ८७ रन बनाए ।

जवाफी ब्याटिङमा आएको मलेसिया पुरा ओभर खेल्दै ९ विकेट हुमाउँदा १४४ रन मात्र बनायो । र, नेपाल १९ रनले विजयी भएको थियो ।

अन्तिम पटक नेपाल र मलेसियाबीच सन् २०१८ को विश्व टी-ट्वान्टी एसिया अन्तर रिजनल छनोटमा प्रतिस्पर्धा गरेका थिए । जुन खेलमा नेपालले ८ विकेटको जित निकालेको थियो ।

मलेसियाकै क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर ३ बलमा १०० रनमा समेटियो । नेपालका सन्दीप लामिछानेले ५ विकेट तथा सोमपाल कामीले ३ विकेट हात पारे ।

१०१ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभर ४ बलमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालका पारस खड्काले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस